नेकपा विवादः सत्तारुढ नेकपा पार्टी एकता प्रक्रिया अझै अन्यौलमा !

काठमाडौं: सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल तोकेको समयसीमाभित्र पार्टी एकताका काम पूरा गर्न फेरि असफल भएका छन । बैठकले असोज महिनाभित्र पार्टी एकताका सबै काम सक्न अध्यक्षद्वयलाई जिम्मेवारी दिएको थियो । तर एकताका बाँकी काम टुंग्याउनुको साटो पार्टीभित्र फेरि नयाँ विवाद देखिन थालेको छ ।

एकता प्रक्रिया सम्पन्न गर्ने विषयमा पटक–पटक भाका सार्दै आएको नेकपामा पछिल्लो समय भएको समझदारीले छिट्टै विवाद समाधान हुने अपेक्षा गरिएको थियो । तर एकीकरण भएको २८ महिनासम्म नटुंगिएको एकतालाई पूर्णता दिने स्थायी कमिटीको म्याद गुज्रेसक्दा समेत विवादित विषय जस्ताका तस्तै छन् । अध्यक्षद्वयबीच सहमति जुट्नुको साटो असझदारी झनै बढ्दै गएको छ । गत भदौ २६ गते सम्पन्न स्थायी समिति बैठकले असोज महिनाभित्र पार्टी एकताका सबै काम सक्ने गरी विवादित विषय टुंग्याउन अध्यक्षद्वय ओली र दाहाललाई जिम्मेवारी दिएको थियो । तर त्यस अनुसार अध्यक्षद्वयले एकताका काम अघि बढाउन सकेनन् । अध्यक्षद्वयबीच प्रधानमन्त्री निवास बालुवाटारमा दैनिक दुई–चार घण्टा छलफल भए पनि ती विना निष्कर्षमै सीमित भए । प्रधानमन्त्री ओलीले स्थायी कमिटीले गरेका निर्णयप्रति वेवास्ता गर्दै आफ्नो पुरानै शैलीलाई दोहो¥याउँदा नेकपामा नेताहरुबीच अविश्वास झनै बढ्दै गएको छ । महत्वपूर्ण राजनीतिक नियुक्तिदेखि मन्त्रीहरुको चयनसम्म सहमतिबाटै गर्नुपर्ने निष्कर्ष स्थायी समितिको बैठकले गरेको थियो । तर प्रधानमन्त्री ओलीले आफ्नो पुरानै शैली दोहो¥याउँदै आफूखुसी निर्णय लिएको भन्दै अर्का अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल रुष्ट बनेका छन् । जसका कारण न पार्टी एकताको टुंग्याउन बाँकी काम अघि बढ्न सक्यो, न त महाधिवेशनको तयारी नै । यही बीचमा भएको कर्णाली प्रदेशमा मुख्यमन्त्री विरुद्धको अविश्वासले त झन् पार्टीमा तरंग नै ल्याएको छ । अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल एक ठाउँमा उभिएपछि अविश्वासको प्रस्ताव रोकिए पनि यसले केन्द्रसम्म नै निकै ठूलो झड्का दिएको छ । पार्टीभित्र अराजकता मौलाउने खतरा पनि उत्तिकै बढेको छ । प्रधानमन्त्रीले नियुक्त गरेका तीन मन्त्री पनि आफ्नै गुटको हुनुले त झन् नेताहरुबीच संवाद हिनताकै अवस्था ल्याइदिएको छ । प्रधानमन्त्री ओलिले एकलौटी गरेको भन्दै आन्तरीक संघर्ष फेरि चुलिएको छ । विभाजनको संघारमा पुगेर जोगिएको नेकपामा भदौ २६ को स्थायी कमिटी बैठकको निर्णयले विवाद केही हदसम्म सुल्झिने संकेत देखिएको थियो । नेताहरुले ठूलो दुर्घटनाबाट पार्टी जोगाएकाले अब नयाँ गति लिने विश्वास कार्यकर्ताले गरेका थिए । तर, एक महिना नबित्दै नेकपाभित्र पुरानै रोग बल्झिएको छ । यसले मुलुकको राजनीतिलाई कहाँ पु¥याउने हो चासो र चिन्ताको विषय बनेको छ ।

तपाईको प्रतिक्रिया

Techie