निर्वाचन सम्बन्धी काम नरोक्न ओलीको निर्वाचन आयोगलाई पत्र

काठमाडौ । नेकपा ओली समूहले निर्वाचन आयोगमा जवाफ पेश गरेको छ । आयोगले गत बिहीबार नेकपाका दुवै पक्षलाई ऐन–नियम र पार्टीको विधाबकनअनुसार विवरण पठाउन पत्राचार गरेको थियो । सोही पत्रको जवाफमा ओली समूहले नेकपा विभाजन नभएको र पुष्पकमल दाहाल दोस्रो वरियताको अध्यक्ष कायम रहेको जनाएको छ । ओलीद्वारा हस्ताक्षरित पत्रमा दाहाल–नेपाल समूहले ओलीलाई अनुशासनको कारबाही गर्दै उनको ठाउँमा माधव नेपाललाई अध्यक्ष नियुक्त गरेको विवरण पेश गर्नुको औचित्य र वैधानिकता नभएको उल्लेख गरिएको छ । नेपाललाई अध्यक्ष बनाइएको भन्ने दाहाल–नेपालले आयोगलाई पठाएको पत्राचार र दाबीको कुनै औचित्य र वैधानिकता नभएको दाबी गरिएको छ । दाहाल समेतले आयोगमा पत्र पठाइ पार्टी विभाजनको हिसाबले पत्राचार गरेपनि नेकपा विभाजन नभएको ओलीले पठाएको पत्रमा उल्लेख छ । आफ्नो पार्टीमा दाहाल दुई नम्बर अध्यक्ष र नेपाल वरिष्ठ नेता रहेको पनि ओलीले उल्लेख गरेका छन् । ओलीले महासचिव र अध्यक्षको परामर्शमा पुस ७ र ९ गते बालुवाटारमा बोलाइएको केन्द्रीय समितिको बैठकमा बहुमत सदस्यले हस्ताक्षर गरेको दाबी समेत गरेका छन् । ओलीले पत्रमा निर्वाचन आयोगलाई निर्वाचन सम्बन्धी काम पनि नरोक्न आग्रह गरेका छन् । पुस ५ मा प्रतिनिधिसभा विघटन भएयता प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष दाहाल तथा नेपाल पक्षले आयोगमा एकले अर्कालाई कारबाही गरेको भन्दै पत्राचार गरेका थिए ।।

तपाईको प्रतिक्रिया

Techie