निजामती प्रशासन पुरातन सोचबाट मुक्त हुन सकेन: पोखरेल

काठमाडौ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामती प्रशासन पुरातन सोचबाट मुक्त हुन नसकेको टिप्पणी गरेका छन । बुधबार सिंहदरबारमा आयोजित नेपाल सरकारका सचिवहरुबीच निजामती सेवाका विविध पक्ष सम्बन्धी अन्तरक्रियामा उपप्रधानमन्त्री पोखरेलले निजामती प्रशासनले परिणामलाई भन्दापनि प्रक्रियालाई जोड दिने गरेको भन्दै समय सापेक्ष परिवर्तन हुनु पर्ने बताए । उनले कर्मचारीतन्त्र आफैमा सक्षम हुँदाहुँदै पनि जनताको विश्वास जित्न नसकेको बताए ।

उपप्रधानमन्त्री पोखरेलले ढिलासुस्ती, भ्रष्ट्राचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिचकिचाउने, समस्यासँग तर्सने लगायतका प्रवृत्तिका कारण पनि कर्मचारीतन्त्रमाथि प्रश्न उठने गरेको आरोप लगाए । उनले आफूलाई संवेदनशिल, गतिशिल मानवहरुको विवेकशिल समूहको रुपमा स्थापित गर्न कर्मचारी तन्त्रलाई सुझाव समेत दिए ।

यसैगरी मुख्य सचिव शंकरदास बैरागीले कर्मचारी प्रतिको नकारात्मक दृष्टिकोण बदल्नु निजामती प्राशासनको मुख्य चुनौति भएको धारणा व्यक्त गरे । अनुशासित, मार्यादित रुपमा कर्तव्यनिष्ठ भई निष्पक्ष र पारदर्शि ढङ्गले विना ढिलासुस्ती काम सम्पादन गर्न सके यो उद्देश्य प्राप्त गर्न सकिने उनको भनाई थियो ।

उनले देशको विकासका लागि नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने, निजी, सामुदायिक र अन्य क्षेत्रसँग समन्वय गर्न निजामती सेवा तयार रहनुपर्ने पनि बताए ।।

तपाईको प्रतिक्रिया

Techie