निगमलाई निजी क्षेत्रको जिम्मा लगाउन खोज्नु निन्दनीय र घृणित: भट्टराई

काठमाडौ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाल वायुसेवा निगमलाई निजीकरण गरिन लागिएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । आइतबार ४ बुँदे अपील जारी गर्दै डा भट्टराईले शतप्रतिशत शेयर निजी क्षेत्रलाई जिम्मा लगाउन खोज्नु अत्यन्त निन्दनीय र घृणित भएको उल्लेख गरेका हुन् । पब्लिक लिमिटेडको रुपमा नयाँ कम्पनी दर्ता गर्ने तयारी गरिएको भन्दै उनले सरकारले नजिकका दलाल पुँजीपतिहरुलाई नै निगम दिन खोजेको आशंका पनि व्यक्त गरेका छन् । अपिलमा भट्टराइले सरकार आफैले उड्डयन व्यवसाय सम्बन्धमा कुनै अनुभव र ज्ञान नभएका आसेपासे, हुक्के बैठकेहरुलाई प्रबन्ध निर्देशक तथा सञ्चालक सदस्यहरु नियुक्त गर्ने, तिनीहरुबाट हुने नहुने अनेकौं क्रियाकलापहरु गराउने र संस्थानलाई धरासायी तुल्याउने काम गरेको आरोप लगाएका छन् । त्यस्तै संस्थान चलेन भनेर संस्थानको बचेखुचेको सम्पत्ति निजीकरणको नाममा कौडीको मूल्यमा आफ्ना निकटस्थ दलालहरुलाई बिक्रि गर्ने षड्यन्त्र भैरहेको भन्दै भट्टराइको अपिलमा त्यो कुनै पनि हालतमा नेपाली जनतालाई सह्य नुहुने उल्लेख छ । उनले निगमलाई निजीकरण गर्न खोजिनुको पछाडि थुप्रै प्रश्नहरु अनुत्तरित रहेको उल्लेख गर्दै ‘के ओली सरकारसँग त्यसको जवाफ छ ? भन्दै प्रश्न गरेका छन । उनले सरकारी स्वामित्वको यति ठूलो संस्थानलाई गरिने निजीकरणले दूरगामी प्रभाव पार्ने हुँदा यो अधिकार कामचलाउ सरकारसँग नभएको पनि बताएका छन् । उनले कर्मचारीहरुको न्यायपूर्ण मागलाई स्वीकार गरी उनिहरुमाथिको दमन बन्द गर्न, निजीकरणको गलत प्रक्रियाबाट सरकार तुरुन्त पछि हट्न र यस गलत कार्यमा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउन अपिल गरेका छन् ।

तपाईको प्रतिक्रिया

Techie