दैनिक भास्करको कार्यालयमा प्रहरी छापा

भारतको चर्चित पत्रिका दैनिक भास्करको कार्यालयमा प्रहरीले छापा मारेको छ । बिहीबार भारतको सेन्ट्रल बोर्ड अफ डाइरेक्ट ट्याक्सेज (सीबीडीटी) ले छापा मारेको हो । सीबीडीटीका प्रवक्ता सुरभी अहलुवालियाले दैनिक भास्करको कार्यालयमा छापा मारिएको पुष्टि गरेको बीबीसीले जनाएको छ । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार पत्रिकाका प्रमोटर्सहरुको घर तथा कार्यालयमा छुट्टाछुटै टोलीले छापा मारेको हो ।

दैनिक भास्कर भारतको चर्चित हिन्दी पत्रिका हो जसले कोरोना महामारीको क्रममा धेरै खोजमूलक समाचार प्रकाशित गरेको छ । जसमा सरकारले कोरोना नियन्त्रणको लागि चालेको कदमबारे प्रश्न उठाइएको थियो ।

भारत सरकारले अक्सिजन अभावको कारण मृत्यु हुनेको संख्या शून्य बताइरहेको समयमा उसले गत अप्रिलमा मध्यप्रदेशमा मात्र अक्सिजन अभावको कारण ६० जनाको मृत्यु भएको समाचार सार्वजनिक गरेको थियो ।

त्यस्तै कोरोनाको दोस्रो लहर आउनुमा पनि सरकारले चरम लापरबाही गरेको खोजमूलक समाचारहरु दैनिक भास्करले श्रृङ्खलाबद्धरुपमा प्रकाशित गरेको थियो । त्यस्तै उसले गंगा नदी किनारमा भेटिएका शवहरूका विषयमा खोजमुलक रिपोर्ट प्रकाशित गरेको थियो । केन्द्र सरकारले फैलाएको गलत समाचार वा लुकाएको तथ्यांकको पनि फ्याक्ट चेक दिँदै आएको थियो ।
यसैबीच भारतका विपक्षी दलहरुले सरकारले दैनिक भास्करमाथि उसको कमजोरी उजागर गरेको प्रतिरोध साँध्न छापा मारेको बताएका छन् ।।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दैनिक भास्करको कार्यालयमा छापा मार्नु मिडियालाई डर देखाउने प्रयास भएको बताएका छन् । सरकारविरुद्ध बोल्नेलाई नछाड्ने नीतिमा अहिले सरकार रहेको केजरीवालको बुझाइ छ ।

यसअघि गत फेब्रुअरीमा भारतको इन्फोर्समेन्ट डाइरेक्टोरेटले न्युजक्लिक डट इनसँग जोडिएका पत्रकारहरु र अधिकारीहरुको घरमा छापा मारेको थियो ।

तपाईको प्रतिक्रिया

Techie