देशको सबैभन्दा ठूलो क्षमता ढल्केवर विद्युत सबस्टेशनको उद्घाटन

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले धनुषाको ढल्केवरस्थित देशको सबैभन्दा ठूलो क्षमताको विद्युत् सबस्टेशनको उद्घाटन गरेका छन । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी तथा विश्व बैंकको सहुलियतपूर्ण ऋणमा निर्मित ४००, २२० र १३२ केभी क्षमताको सबस्टेशनको प्रधानमन्त्री ओलीले आज उद्घाटन गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले नेपालले आगामी दिनमा भारत र बङ्गलादेशमा विद्युत् बेच्ने पूर्वाधार तयार भएको जनाउँदै विद्युत् बिक्री बारे गम्भीर छलफल भइरहेको बताए ।
सङ्घीय सरकारको राष्ट्रिय विद्युत् विकास दशक कार्यक्रमअन्तर्गत निर्माण भएको जिआइएस प्रविधियुक्त सो सबस्टेशनबाट करिब ९०० मेगावाट विद्युत् आदानप्रदान गर्न सकिने छ । हाल सञ्चालन रहेका नेपालका सबस्टेशनमध्ये सबैभन्दा ठूलो ढल्केवर सबस्टेशनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको गत पुस १९ गतेदेखि चार्ज गरी परीक्षण सम्पन्न गरिसकिएको छ । सो सबस्टेशनलाई प्राधिकरणको इतिहासमा सबैभन्दा ठूलो सफलताका रूपमा पनि लिइएको छ । कूल १३ बिघा १४ कठ्ठा वर्ग मिटर क्षेत्रफलमा रहेको सबस्टेशनको डिजाइन र निर्माणको सुपरीवेक्षण नेपाली इञ्जिनीयरले गरेका छन् ।

तपाईको प्रतिक्रिया

Techie