दुर्गुणको नास गर्ने माता दुर्गाको आध्यात्मिक रहस्य

  • न्यूप्रण नेपाल

अती प्राचीन धर्म, संस्कृति, सम्पदा र चाड पर्वहररूले भरिपूर्ण एवंम् ऋषिमुनि, योगी, तपस्वीहरुको तपोभूमी हिमाल, पहाड, तराईको विशाल आलिङगनमा रहेको देश नेपालको आफ्नै मौलिक परम्पराका साथै श्रेष्ठ सभ्यता पनि छ । बगैंचाका रंगीबिरगंगी फुलहरु जस्तै विभिन्न जातजाति भाषाभाषीहरुले मनाउने आफ्नै किसिमका चाडपर्वको पछाडि धेरै रहस्यहरु लुकेका छन् । खोतली हेर्‍यो भने अनेकौ बैज्ञानिक तथा जीवन उपयोगी तथ्यहरु फेला पर्दछन् । हामीले यी रहस्यलाई जानेर बुझेर कार्य गर्न सक्यौं भने अवश्य पनि फलदायि नै हुन्छ । यदि औपचारीकता मात्रै पुरा गर्छौं भने केवल क्षणिक रमाईलाको लागि मात्र हुन्छ ।

नेपालीहरुको महान पर्व दशैंमा शिब शक्ति स्वरुपा नवदुर्गा भवानीको नौ दिनसम्म विभिन्न रुपको विषेश पुजा, आराधना गर्ने र जाग्राम वस्ने भएकाले यो पर्वलाई नवरात्रि पनि भन्ने गरिन्छ । यस समयमा माता दुर्गा भवानीबाट शक्ति प्राप्त गर्ने विषेश इच्छा राखिन्छ ।

No description available.

नवरात्रिको आध्यात्मिक रहस्य

शास्त्रमा उल्लेख गरिएका पौराणिक कथाहरुमध्ये एउटा कथामा उल्लेख गरिए अनुसार “महिषासुर नामक दैत्यले ब्रम्हाजीको घोर तपस्या गरेछ र उहाँबाट कुनै पनि मानिस वा प्राणिले महिषासुरलाई मार्न नसक्ने वरदान पाएछ । तत्पश्चात् महिषासुरलाई आफुनै सबैभन्दा ठूलो हुँ भन्ने घमन्ड चढ्यो र तीनै लोकमा आफ्नो साम्राज्य स्थापना गर्न मात्र खोजेन त्यस सन्दर्भमा देवताहरुलाई बन्दि समेत बनाएर अत्याचार गर्न थाल्यो । महिषासुरको अत्याचारबाट देवताहरुलाई मुक्त गर्न परमात्मा शिवले आदि शक्तिलाई प्रकट गर्नुभयो । पवित्रताको तेज र प्रकाशले आलोकित, त्रिनेत्रि, अष्ट भुजाधारी दिव्य अस्त्र शस्त्रले सुसजित सिँहमाथि सवारी हुने देवीले नौ दिनसम्म महिषासुरसंग लडेकी र महिषासुरको बध गरेर विजय प्राप्त गरेको पाईन्छ” । जसकारण उहाँलाई महिषासुर मर्दनि पनि भनिन्छ । यस्तै नवदुर्गाकोे नौ दिनमा देवीले रक्तवीज, चण्ड–मुन्ड, शुम्भ–निशुम्भ आदि अन्य असुरहरूलाई पनि वध गरेको प्रसंग पाइन्छ ।

नवरात्रिका नौ दिनसम्म शैलपुत्री, ब्रहाचारणी, चन्द्रघण्टा, कुष्मण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री देवीको आराधना गरिन्छ । साथै हामीमा भएका दुर्गुणको नाश गर्नुहोस्, कमजोरी तथा मनोविकारको नाश गर्ने शक्ति दिनुहोस् भन्दै देवीको स्तुति बन्दना पनि गर्ने गरिन्छ । बरदान मिलोस भन्ने आश राखिन्छ । दुर्गुणको नास, नकारात्मक मनोविृत माथि विजय प्राप्त गरेर जीवनमा सद्गुणको धारण होस्, स्व उन्नति प्रगति गर्न सकियोस् भन्ने चाहाना राख्छौं । आशुरी शक्तिमाथि दैवि शक्तिको विजय र जीवनलाई दिव्यशक्तिबाट ससक्त बनाउनु नै वास्तवमा नवरात्रिको आध्यात्मिक रहस्य हो ।

शिवशक्ति माता दुर्गाको प्रकाश चक्र, स्वरुप र अस्त्र शस्त्रको रहस्य

शिव शक्ति माता दुर्गालाई सधैं प्रकाशको चक्रमा तेजले ओतप्रोत एवम् श्रृङ्गारीएको स्वरुप, अष्ट भुजा, अस्त्र शस्त्रधारी, सिँहमाथि सवारी भएको देखाइन्छ । प्रकाश चक्रमा देवीलाई देखाउनुको अर्थ हो दिव्य शक्तिले भरिपुर्ण, सम्पुर्ण आशुरी शक्तिमाथि विजयी एवं पवित्रताको प्रतिक हो । दोस्रो श्रृङ्गारीएकोे स्वरुप यो वास्तवमा उहाँको दिव्य गुण (शहनशिलता, धैर्यता, नम्रता, अन्तर्मुखता, पवित्रता, निर्भयता, हर्षितमुखता, मधुरता) रुपि गहनाले सु–सजित हुनुको प्रतिक हो । तेस्रो सिँहमाथी सवारी अथात् प्रकृति जित निर्भयताको निशानि हो । अझै विस्तारमा भन्नुपर्दा जव शिव शक्तिले आफुलाई शक्ति, श्रेष्ठ चरित्र, उच्च संस्कार र सदगुणको धन वाट सम्पन्न गराएर आध्यात्मिक ज्ञान आर्जन गरेर मुल्यहरुबाट सु–सजित गर्नुहुन्छ । तव प्रकृतिको कुनैपनि आपत् विपत्ले आक्रमण गर्नुको साटो सत्कार गर्छ र प्रकृति दासी हुन्छ भन्न खोजिएको हो । देवी मातालाई करुणामूर्त पनि भनिन्छ त्यसैले उहाँको आँखामा करुणाभाव एवंम शक्तिको स्वरुप भल्किएको अनुभव गरिन्छ ।

No description available.

अष्ट भुजामा अष्ठ अलंकारको आध्यात्मिक रहस्य के हो ?

माता दुर्गाको अष्ट भुजामा सुसज्जित अष्ट अलंकारको आध्यात्मिक रहस्य गहिरो छ । देवीको दिव्य स्वरुपको पुजामात्र नभई उहाँको दिव्य स्वरुप, अष्ट भुजामा भएका अष्ट अलंकारको भावार्थ पनि बुझन जरुरी छ ।

सुदर्शन चक्रः सुदर्शन चक्र अर्थात् म देह होइन एक चैतन्य शक्ति आत्मा हुँ, म आत्माले यस सृष्टिचक्रमा सत्य, त्रेता, द्वापर, कलि तथा कलि र सत्ययुगको दोसाँधमा रहेको संगमयुग मा कसरी चक्कर लगाउँछ भन्ने ज्ञान अर्थात् स्व आत्माको चक्रको ज्ञान भएको भनिएको हो । यसलाई स्वयम्भित्र रहेका कमजोरिको दर्शन गरेर कमजोरीलाई नष्ट गर्ने र अरुलाई देखेर अरुको राम्रो कुारको दर्शन गर्नु पनि भनिन्छ ।

त्रिशुलः त्रिुशुललाई दृढ निश्चयको प्रतिक मानिन्छ र त्रिशुलमा रहेको माथिको तिन शुलको अर्थ हुन्छ मन, बचन र कर्मद्धार पाँच विकाररुपी राक्षस (काम, क्रोेध, लोभ, मोह, अहंकार) लाई नष्ट गरेर त्यसमाथि विजय प्राप्त गर्नुको प्रतिक मानिन्छ ।

शंखः शंख अर्थात् सर्व आत्माहरूका पिता ज्ञानका सागर, शान्तिका सागर, पवित्रताका सागर, आनन्दका सागर, प्रेमका सागर, सर्वशक्तिमान निराकार ज्योतिर्विन्दु स्वरूप परमपिता परमात्मा शिवद्वारा उद्घाटित ज्ञानको रहस्यको शंख ध्वनि गरेर अज्ञान अन्धकारमा सुतेका मनुष्य आत्मालाई जगाउनुको प्रतिक मानिन्छ । जव शंख बज्छ त्यसबाट ॐ को ध्वनि निस्कनछ । ॐ तिन अक्षर मिलेर बनेको छ । अ, उ, म अ अथात् आचरण, उ अर्थात् उच्चारण र म अथात् मनको विचरालाई एक गर्नु, मन वचन र कर्ममा शुद्धता ल्याउनु ।

तरवारः तरवार अर्थात् मनमा प्रहार गर्ने ईश्र्या, द्वेस, विकार, वासनारुपी भुतलाई ज्ञानरुपी तरवारद्धारा क्षेदन गर्नुको प्रतिक मानिन्छ ।

धनुष वाणः यसको भावार्थ ज्ञानको आधारमा लक्ष्यमा आफ्नो ध्यान केन्द्रित गर्नु वा पुरुषार्थरुपी वाण चलाएर एकरस एवं श्रेष्ठ स्थिति प्राप्त गर्नु ।

ज्योतिः ज्योति अथात् सदैव आत्माको ज्योति जगाउनुको प्रतिक हो ।

गदाः भनिन्छ जव गदा माथि उठाइन्छ तव युद्धमा जानुको प्रतिक मानिन्छ र गदा जव तल हुन्छ तव युद्धमा विजय हुनुको प्रतिक मानिन्छ । जीवनरुपी संघर्षमा परमात्मा ज्ञानको गदाबाट मायाँ अर्थात् पाँच विकारसंग युद्ध गरेर त्यसमाथि विजय प्राप्त गर्नुको प्रतिक मानिन्छ ।

पद्मः जसरी पद्म अर्थात् कमलको फुलको जरा हिलोमा भएरपनि हिलोभन्दा माथि फुल्ने गर्छ त्यस्तै काम, क्रोध, लोभ, मोह, अहंकार जस्ता विकारहरूले भरिएकोे हिलोरुपि संसारमा रहेर पनि तामसिक, विकारी एवं विशाक्त वायुमण्डल वाट अलिप्त एवंम् पवित्र रहनुको प्रतिक मानिन्छ ।

त्यस्तै महिषासुरको पनि आध्यात्मिक रहस्य रहेको छ । महिष शव्दको अर्थ भैंसि हुन्छ , भंैसि अर्थात् मन्द बुद्धि, अविवेकि र तमोगुणको प्रतिक मानिन्छ ।

यसरी देवीको शक्तिलाई जानेर यी दिव्य गुणरुपी अलंकारलाई धारण गर्ने र जीवनमा प्रयोग गर्ने हो भने जीवन साँच्चै हामीले कल्पना गरेजस्तै सुन्दर बनाउन सकिन्छ ।

नवरात्रिको शुरुवातमा कलशको स्थापना गरिन्छ । यसको अर्थ हुन्छ परमात्माबाट बुद्धिरुपि कलशमा ज्ञान भर्नु र आफुभित्र भएको अज्ञान अन्धकार नष्ट गर्नु । त्यस्तै अखण्ड द्विप जगाउने र जागरण गर्ने गरिन्छ अर्थात् ज्ञानरुपी घ्यूबाट आत्मा ज्योति जगाउनु र कलियुगी रात्रिमा अखण्ड द्विप जगाएर अत्मालाई जागृत गराउनु यस रात जागरण गर्नुको प्रतिक मानिन्छ । त्यसैगरी मन्दिरमा घण्ट र शंखध्वनि गर्ने गरिन्छ । जसको कम्पनबाट वातावरणमा भएका किटाणुलाई नष्ट गर्ने गर्दछ । वास्तवमा यि चाडपर्व मनाउने बैज्ञानिक कारणहरु पनि छन् । यिनै दिव्य शक्तिहरुले पृथ्विलाई सन्तुलित बनाउने उर्जा प्रदान गर्दछ ।

विकारी आशुरी दृष्टि तथा वृति आन्तरिक दुर्वलताबाट विकसित हुन्छ । त्यसकारण आफुभित्र भएका कमजोरी रुपि आशुरी दुर्गुणहरूलाई आध्यामिक शक्तिद्वारा संहार गर्नुछ । यही शक्तिको आधारमा नै कठिन वा विपरित परिस्थितिलाई सहज रुपमा पार गर्न सक्छौं । माता दुर्गाको दिव्य शक्तिहरुले सम्पुर्ण भएको रुपलाई आन्तरिक आध्यात्मिक शक्तिको प्रतिक मानिन्छ । देवीका यीनै आर्दशलाई भक्तहरुले शिव शक्तिको रुपमा पुजा गर्छन । अतः हरेक आत्मारुपी शक्ति शिव परमात्माको सन्तान हो । त्यसैले माता दुर्गामा भएका यी आध्यात्मिक शक्तिलाई धारण गर्नेहोभने हरेक परिस्थितिलाई सहज रुपमा स्विकार गरेर विजय प्राप्त गर्न मदत पुर्‍याउँछ । स्वयम्लाई चिनेर परमात्मासंग सम्बन्ध जोडेमा यी शक्तिहरू प्राप्त हुन्छ र दुष्ट प्रविृत्ति तथा नकारात्मक विचारको संहार गरेर स्वयमको उन्नति प्रगतिका हुनका साथै बहुजन हिताय बहुजन सुखायको भावलाई आत्मसाथ गर्ने प्रेरण मिल्छ ।

तपाईको प्रतिक्रिया

Techie