दार्चुला र पाल्पामा बाढीपहिरोमा परी चार जनाको मृत्य

तनहुँमा १ सय ७८ घर परिवार विस्थापित

दार्चुलामा पहिरोले पुरिएर एकै परिवारका २ सहित ३ जनाको मृत्यु भएको छ । दार्चुला प्रहरीका अनुसार जिल्लाको नौगाड गाउँपालिका–३ को चौखुट्टेमा अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा एकै परिवारका हजुर आमा र नातिनीको मृत्यु भएको हो । पहिरोले घर पुरिँदा ७२ वर्षीया गेउली ठगुन्ना र उनकी ३ महिनाकी नातिनी मञ्जरी ठगुन्नाको मृत्यु भएको हो । प्रहरीका अनुसार नन्दु ठगुन्ना र गोठे टमटाको घरमा पनि क्षति पुगेको छ । त्यस्तै पहिरोमा परेर सोही ठाउँका २९ वर्षीय लक्ष्मण सितौलीको पनि मृत्यु भएको छ । उता, पाल्पाको तिनाउमा पनि पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । एक बालक वेपत्ता भएका छन् भने अन्य सात जना घाइते भएका छन् ।

तनहु विस्थापित

गएको बुधवारदेखि परेको अविरल वर्षापछि तनहुँका विभिन्न ठाउँका एक सय ७८ घरपरिवार पहिरोको उच्च जोखिममा रहेका छन् । घर जोखिममा रहेपछि आमा समूह, विद्यालय, छिमेकी र आफन्तजनकोमा शरण लिन बाध्य भएका छन् । बन्दिपुर गाउँपालिकामा मात्रै १ सय ३२ र ऋषिङ गाउँपालिकामा ४६ घरपरिवार विस्थापित भएका छन् । यस गाउँपालिकाको वडा नं २ मा रहेको खहरे खोलाले पाँच घर बगाएको छ । धारापानी, रामकोट र कल्चोक बासिन्दा विस्थापित भएका छन् । गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङको नेतृत्वमा बाढी पहिरोबाट प्रभावितलाई भेटघाट गरी सुरक्षित ठाउँमा स्थानान्तरणका लागि पहल गरिएको छ । जोखिममा रहेका घरमा नबस्न र सुरक्षित ठाउँमा गएर बस्न आग्रह गरिएको उपाध्यक्ष गुरुङले बताइन् । त्यसैगरी बन्दिपुर गाउँपालिका–१ मा रहेको कौसिनी छाप ठाडो खहरे खोलाले आसपास क्षेत्रका ६० घर परिवार पहिरोको कारण उच्च जोखिममा परेका वडाध्यक्ष भानुभक्त पोखरेलले जानकारी दिए । सुरक्षित ठाउँमा एकीकृत बस्ती विकास गरी स्थानान्तरणका लागि पहल गरिदिन स्थानीयले आग्रह गरेका छन् । त्यसैगरी ऋषिङ गाउँपालिका–५ मा १२ घर उच्च जोखिममा रहेका छन् । गाउँपालिकाका प्रवक्ता विजय दरैका अनुसार ६ घरमा पूर्ण र ४० घरमा आंशिक क्षति भएको छ ।

तपाईको प्रतिक्रिया

Techie