तराइ मधेशमा अहिले पनि मिटरव्याजीहरुको गिरोह सक्रिय (भिडियो रिर्पोट)

महोत्तरी लगायत तराइ मधेशमा अहिले पनि मिटरव्याजीहरुको गिरोह सक्रिय रहेको छ । उनीहरुले आश र त्रासमा पारेर सोझासिधा गरिबहरुलाई शोषण गरि रहेको पाइएको छ ।
महोत्तरीको भंगहा नगरपालिका ४ प्रेमनगरका धनेश्वर साहले सोही नगरपालिका ५ सिद्धपुरका अनुरुद्ध साहबाट २०७४ सालमा प्रतिमहिना सयकडा ३ रुपैयाका दरले ब्याज तिर्ने गरी एक लाख रुपैयाँ लिए । अनिरुद्ध त्यस क्षेत्रका चर्चित मिटरब्याजी हुन् । अनुरुद्धले दुई वर्षअघि नै २०७२ को मिति राखेर साँवाको १२ गुणा बढी रकम लेखी तमसुक बनाए । सामान्य लेखपढ पनि गर्न नसक्ने धनेश्वरले तमसुकमा सही गरिदिए । अनुरुद्धले धनेश्वरको हातमा सिद्धार्थ बैंकको १ लाख रुपैयाँको चेक थमाए । धनेश्वर सोही दिन चेक भजाउन बर्दिबासस्थित सिद्धार्थ बैंक पुगे । तर, अनुरुद्धले दिएको खातामा पैसा नै थिएन । बैंकले भुक्तानी नदिई फर्कायो । धनेश्वर निराश हुँदै फर्के र चेकसहित साहु अनुरुद्धको घर पुगे । अनुरुद्धले नगदै दिन्छु भन्दै धनेश्वरको हातबाट चेक फिर्ता लिएर उनकै अगाडि उक्त चेक च्याते । पैसा अर्को दिन दिउँला भनी धनेश्वरलाई घर फर्काए । तर, अनुरुद्धले आजसम्म न एक रुपैयाँ दिए, न त कपाली तमसुक फिर्ता गरे । ऋणै नलिएको कपाली तमसुकको आधारमा अनुरुद्धले ४ महिनापश्चात महोत्तरी जिल्ला अदालतमा धनेश्वरलाई दिएको १२ लाख रुपैयाँ ब्याजसहित असुल उपर गरिदिन मुद्दा दायर गरे । अदालतले पनि १८ लाख ७४ हजार ३ सय ८ रुपैयाँ तिर्नुपर्ने फैसला सुनायो । आर्थिक रुपमा निकै कमजोर धनेश्वरले हारगुहार गरी १६ लाख रुपैयाँ ऋण काढेर गाउँलेहरुकै विचमा अनुरुद्धलाई बुझाए । तर, पनि अनुरुद्धले मुद्दा फिर्ता लिएनन् । जसका कारण अदालतले आउँदो माघ २१ गते साहुको बिगो भर्न धनेश्वरको चलअचल सम्पति लिलाम गर्ने आदेश दिएको छ ।
मिटरब्याजी अनुरुद्धको बेइमानी र छलकपटले आर्थिक रुपमा कमजोर धनेश्वरको परिवार उठिबास हुने अवस्थामा पुगेको छ । धनेश्वरले न्यायका लागि गाउँका भद्रभलादमी, जनप्रतिनिधिसमक्ष हारगुहार गरिरहेका छन् । तर, उनको कुरा सुन्न कोही पनि तयार छैनन् ।

भँगहा नगरपालिकामा धनेश्वर जस्तै करिब २ सय परिवार मिटर व्याजी अनुरुद्धको चँगुलमा फसेका छन । मिटरब्याजी आरोपी साहले ऋण दिँदा पाँचगुणा बढीको कागज बनाउने गरेको, ऋण तिरिसक्दा पनि तमसुक फिर्ता गर्ने नगरेको गुनासो गरेका छन् ।

तपाईको प्रतिक्रिया

Techie