तत्काल विद्यालय सञ्चालन गर्न सकिँदैन : काठमाडौं महानगरपालिका

काठमाडौं : काठमाडौं महानगरपालिकाले कोरोना कहरको अहिलेकै समयमा विद्यालय सञ्चालन गर्न नसकिने जनाएको छ ।

पहिलेको तुलनामा कोरोना संक्रमण दर कम भएपनि जोखिम कायमै रहेको भन्दै महानगरले तत्काल विद्यालय सञ्चालन गर्न नसकिने र अझै केही समय वैकल्पिक माध्ययमबाट नै पठनपाठन हुने जनाएको हो ।

मन्त्रिपरिषद् बैठकले केही कार्यविधि बनाई सञ्चालनको जिम्मा सम्बन्धित स्थानीय तहलाई दिएपनि काठमाडौं महानगरले भने त्यसबारे कुनै निर्णय गरेको छैन ।

काठमाडौं उपत्यका नगरपालिका फोरमको केही दिनअघि बसेको बैठकले पनि अहिलेकै अवस्थामा विद्यालय खोल्न नसकिने जनाएको थियो । उपत्यकामा संक्रमण कम भएपछि स्वास्थ्यविज्ञको सल्लाहमा कार्यढाँचा तयार गरी सञ्चालन गरिने महानगरले जनाएको छ ।

हाल काठमाडौं महानगरका ९१ सामुदायिक विद्यालयमा ४२ हजार विद्यार्थी अध्ययनरत छन् । ५ सय ४१ संस्थागत विद्यालयमा दुई लाख २० हजार विद्यार्थी छन् ।

विश्वभरि फैलिएको कारोनाका कारण गत चैतदेखि देशभरिका विद्यालय बन्द छन् । उपत्यका बाहिरका केही विद्यालय सञ्चालन भएपनि जोखिम कायम रहेका केही स्थानमा अझै सञ्चालन हुनसकेको छैन ।

तपाईको प्रतिक्रिया

Techie