काँग्रेस नेता गणेश लामा बेसहारा जनावरको सहारा बन्दै

काठमाडौं : कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लागू गरेको लकडाउनका कारण अति विपन्न परिवारहरुलाई हात मुख जोड्न निकै धौ धौ परेको छ । मानिसहरुसँगै सडकमा बस्ने जनावरहरु कुकुर, बाँदर तथा चराचुरुङ्गीहरु पनि भोकै बस्न बाध्य छन् ।

यसैक्रममा काँग्रेस नेता गणेश लामाले स्वयम्भू क्षेत्रमा रहेका कुकुर तथा बाँदरहरुलाई खाना खुवाएका छन् । शनिबार स्वयम्भू क्षेत्र पुगेर उनले लकडाउनका कारण भोकै बस्न भएका कुकुर तथा बाँदरहरुलाई खाना खुवाएका हुन् ।

लामाले आ-आफ्नो क्षेत्रमा त्यसरी अलपत्र परेका जनावरहरुलाई आफुले सक्ने खाना खुवाउन सबैमा आह्वान समेत गरे । उनले आफुले पनि सो कार्यलाई निरन्तरता दिने बताए । साथै उनले खाद्यान्न अभाव भएर भोकै बस्न बाध्य भएका परिवारलाई समेत सहयोग गर्ने इच्छा व्यक्त गरेका छन् । एभिन्यूज खबरसँगको कुराकानीमा उनले कोटेश्वर क्षेत्रमा रहेका अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्ने बताएका हुन् ।

साथै स्नेहा केयर ग्रुपले समेत बेसहारा बनेका कुकुर तथा बाँदरहरुलाई खाना खुवाएको थियो । सामाजिक कार्यमा निरन्तर लाग्दै आएको स्नेहा ग्रुपले यसअघि पनि विभिन्न स्थानमा बेसहारा रहेका जनावरहरुलाई खाना खुवाएर मद्दत गरिसकेको छ ।


तपाईको प्रतिक्रिया

Techie