टेकु अस्पतालमा कोरोना लक्षण देखिएका व्यक्तिको परीक्षण र उपचार निःशुल्क

काठमाडौ । काठमाडौको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले लक्षण देखिएका व्यक्तिको निःशुल्क पीसीआर परीक्षण गर्ने भएको छ । अस्पतालले एक सूचना जारी गर्दै लक्षण देखिएका व्यक्तिहरुको मात्र निःशुल्क परीक्षण गर्ने जनाएको हो । जाँच गर्दा ज्वरो १ सय डिग्री फरेनहाइट वा सोभन्दा बढी देखिएका तथा कोभिड–१९ को अन्य लक्षण वा चिह्न भएका व्यक्तिहरुको निःशुल्क पीसीआर गरिने सूचनामा भनिएको छ । कोरोना संक्रमितको उपचार निःशुल्क गरिने तर कोरोना बिमा गरेको भए परीक्षण र उपचार सोही रकमबाट कट्टा गरिने पनि सूचनामा उल्लेख छ । योबाहेक अन्य व्यक्तिको हकमा भने पीसीआर परीक्षण शुल्क २ हजार लाग्ने अस्पतालले जनाएको छ । सशुल्क र निःशुल्क गरी दैनिक तीन सयजनाको स्वाब संकलन गरिने पनि अस्पतालले जनाएको छ । मन्त्रिपरिषद्ले कोरोना भाइरसको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको चार दिनपछि अस्पतालले शुक्रबार यस्तो सूचना जारी गरेको हो ।

तपाईको प्रतिक्रिया

Techie