जो बाइडेन र सी जिनपिङबिच टेलिफोन वार्ता

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच टेलिफोन वार्ता भएको छ । अमेरिकी राष्ट्रपतिमा चुनिएपछि बाइडेनले पहिलोपटक चिनियाँ समकक्षी सीसँग कुराकानी गरेका हुन । दुई देशबीच तनाव बढिरहेका बेला चिनियाँ समकक्षीसँग कुराकानी गरेको बाइडेनले ट्वीटरमार्फत जानकारी दिएका हुन । अमेरिकालाई फाइदा भएमात्र चीनसँग काम गर्न सक्ने छलफलका क्रममा बाइडेनले बताएका छन । कुराकानीका क्रममा चीनको अनुचित आर्थिक गतिविधि, हङकङमा भइरहेको हस्तक्षेपसहितका विषयमा राष्ट्रपति बाइडेनले गम्भीर चासो व्यक्त गरेको ह्वाइट हाउसले जनाएको छ । सी र अमेरिकी राष्ट्रपतिबिच गएको मार्च यता पहिलोपटक कुराकानी भएको हो । मार्चमा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र सी बिच कुरा भएयता दुई देशबिचको सम्बन्ध व्यापार तथा अर्थतन्त्रसहितलाई लिएर तनावको अवस्थामा छ । कोरोना भाइरसको महामारी, विश्वव्यापी स्वास्थ्य सुरक्षा, जलवायु परिवर्तन तथा हतियार व्यवस्थापनका सम्बन्धमा पनि कुरा भएको उल्लेख छ । कुराकानीका क्रममा इन्डो–प्यासिफिक क्षेत्र स्वतन्त्र र खुला रहोस् भन्ने अमेरिकाको चाहना रहेको बाइडेनले जानकारी दिएका छन । बाइडेनले चिनियाँ नागरिकलाई नयाँ वर्ष लुनारको शुभकामना पनि दिएका छन । निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालदेखि नै चीन र अमेरिका व्यापार युद्धको अवस्थामा छन । बाइडेन प्रशासनले चीनसँग राख्ने कूटनीतिक सम्बन्धको स्वरुपबारे धेरैलाई चासो रहेको छ ।

तपाईको प्रतिक्रिया

Techie