जंगलभित्रै कृषि फार्म

खोटाङ- खोटाङको बाराहा पोखरी गाउँपालिका २ सुन्तलेको हर्रेचुङ डाँडामा एउटा जंगलबीचमा आकर्षित घर निर्मित छ । उदयपुरको सदरमुकाम गाईघाटदेखि धाप्लाङ हुदै डेड/ दुई घण्टामै पुगिने उक्त ठाउँ अहिले सबैको चासोको केन्द्र बनेको छ ।

जंगलबीचको उक्त घर जापानबाट फर्केर आएका स्थानीय युवा मुकेश राईले निर्माण गरेका छन् । गाउँघरमै केही गर्ने इच्छाशक्ति भएका राईले लामोसमय बाँजो रहदा जंगलमा परिणत भएको नम्बरी जग्गालाई जंगलकै अवस्थामा सदुपयोग गर्नेगरी कृषि फर्म थालेका छन् । “गाउँ नछाडौं–सहर जोडौं” भन्ने नाराका साथ उनले गाउँको अर्गानिक उत्पादन शहरमा पठाउने र सहरका मानिसहरुलाई वास्तविक नेपाली जीवनको अनुभूति दिलाउन भ्रमणका लागि गाउँ बोलाउने योजना बनाएका छन ।

पछिल्लो समय युवाहरु वैदेशिक रोजगारमा जाने, दुईचार पैसा कमाई भएपछि शहर बसाई झर्ने प्रबृत्ति बढेपछि गाउँघरका जमिन बाँझो हुने गरेको छ । गाउँ रित्तिदै जाँदा नेपाली अर्गानिक उत्पादन र नेपाली मौलिकता हराउदै गएको छ ।यहि कुरालाई बुझेका राईले गाउँमै राम्रो सम्भावना देखेर उदाहरणीय काम थालेका हुन् । उनले जंगल एकिकृत कृषि फर्म दर्ता गरेका छन् । नेपाली युवाहरुलाई सबैभन्दा पूँजीको समस्या रहेको र आफुले जापानमा काम गरेर केही पूँजी जम्मा गरेपछि नेपालमै ब्यवसाय गरेर सेवासंगै कमाई गर्न सम्भव रहेको उनको भनाई छ । हाल घर निर्माण गरिसकेका राईले छिट्टै कालिज पालन शुरु गर्ने भएका छन । राईको गाउँप्रतिको मोह र सिर्जनशिल योजनालाई गाउँपालिका र स्थानीयले समेत प्रशंसा गरेका छन ।

पछिल्लो समय सीप लिएर स्वदेश फर्केका युवाहरु आफनै ठाँउमा उत्पादनमुलक कार्यमा जुटेका छन । यस्ता युवाहरुलाई राज्यले सहयोग गरिदिएको खण्डमा युवाहरु आत्मनिर्भर मात्र नभई देशकै अर्थतन्त्रमा योगदान दिन सक्नेछन ।

भिडियो:

तपाईको प्रतिक्रिया

Techie