छिमेकीको अतिक्रमणकारी नीति र चिन्तनले सीमामा समस्या देखियो: गृहमन्त्री थापा

काठमाडौ । गृहमन्त्री रामबहादुर थापाले छिमेकी मुलुकहरुको अतिक्रमणकारी नीति र चिन्तनका कारण सीमामा समस्या देखिएको बताएका छन । राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उनले छिमेकिहरुको अतिक्रमणकारी नीति र चिन्तनका कारण नेपालको भूमि मिचिएको बताएका हुन । गृहमन्त्री थापाले सीमामा रहेका पिलरहरु उखेलेर फालिदिने, नेपाल भित्र गाडिदिने प्रवृत्ति छिमेकीहरुको रहेको बताए । यो प्रवृति नहटदा सम्म सीमा समस्या रहिरहने पनि मन्त्री थापाको भनाइ छ ।
सीमा नक्सा निर्धारण गर्ने सिद्धान्तमा नदीलाई आधार मान्ने प्रचलनका कारण पनि सीमामा धेरै समस्या आएको उनको भनाइ छ । मन्त्री थापाले नदीले धार परिवर्तन गर्दा सीमा समेत परिवर्तन हुने गरेको उल्लेख गरे । सोही आधारमा स्ट्रीप नक्सा बनाउँदा नेपालको भूभाग भारतमा र भारतको भूभाग नेपालमा परेको पनि उनले उल्लेख गरे । गृहमन्त्री थापाले सीमा विवाद समस्या कुटनीतिक माध्यमबाट समाधान गर्न परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्ने पनि बताए । सीमा समस्या समाधानका लागि जनस्तरबाट समेत सहयोग हुनुपर्ने उनको भनाइ छ । मन्त्री थापाले सीमा सुरक्षाका लागि गृह मन्त्रालयले सीमा सुरक्षा सम्बन्धी विशेष योजना बनाएको र त्यसलाई कार्यान्वयन गर्ने चरणमा रहेको जानकारी पनि दिए ।

तपाईको प्रतिक्रिया

Techie