छलफललाई निरन्तरता दिने सहमति पछि नेकपा अध्यक्षद्वय बीचको छलफल सकियो

काठमाडौ । प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल सत्तारुढ नेकपाभित्रको बढ्दो अन्तरविरोधलाई मत्थर पार्ने उपायको खोजीमा जुटेका छन् । सोही क्रममा दुई नेताविच आज बालुवाटारमा डेढ घन्टा छलफल भएको छ । केही दिनदेखि रोकिएको छलफललाई दुई नेताले पुन निरन्तरता दिएका हुन । बैठकमा कुनै ठोस सहमति नजुटेपनि दुई अध्यक्षले सहमति प्रयासका लागि भने निरन्तर छलफल गर्ने भएका छन । पार्टीमा विवाद बढ्दै गएपछि साउन २ गतेसम्मका लागि स्थायी समिति बैठक स्थगित भएको थियो । त्यसपछि आन्तरिक किचलो मिलाउन दुई अध्यक्षबीच कहिले ‘वान टु वान’ त कहिले सहयोगीका साथ संवाद चलिरहेको छ । यसअघि दुवै अध्यक्षले तीन दिन एक्लाएक्लै वार्ता गरिसकेका छन् । नेताहरुले पछिल्लो समय पार्टी विवाद मिलिसकेको बताउने गरे पनि कुन–कुन विषयमा सहमति भयो भन्ने विषय बाहिर आएको छैन । स्थायी समिति बैठकमा सदस्यहरुले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठक पटक पटक स्थगित हुँदै आएको छ । सहमतिका लागि भन्दै स्थायी समिति बैठक साउन २ गते सम्मका लागि स्थगित भएपनि शनिवार यता दुई अध्यक्षबीच छलफल हुन सकेको थिएन । आगामी २ गते बैठक बस्नु अघि दुई अध्यक्षबीच सहमति भएन भने नेकपा भित्रको अन्यौलता बढेर जाने छ । सरकार सञ्चालनदेखि पार्टी व्यवस्थापनसम्ममा सहमति खोज्दा परिणाम आउन ढिलाइ भइरहेको नेताहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

Techie