चीनमा लकडाउन खोलेपछि उच्च दरमा बढ्यो वायु प्रदूषण

एजेन्सी : चीनमा लकडाउन खोलेपछि केही स्थानमा वायु प्रदूषण गत वर्षको तुलनामा उच्च दरमा बढेको छ । हेलसिन्कीमा रहेको सेन्टर फर रिसर्च अन एनर्जी एन्ड क्लीन एअरका अनुसार चीनले अर्थतन्त्रलाई जोगाउन औद्योगिक कार्य अगाडि बढाएकाले वायु प्रदूषण बढेको हो ।

सेन्टरले चेतावनी दिदै कोरोना भाइरसवाट मुक्ति पाउँदै गर्दा वायुमा आएको सुधार गुमेको जनाएको हो । चीनमा फेब्रुअरीमा वायु प्रदूषण निकै कम भएपनि अप्रिलमा बढेको छ । सेन्टरले चीनभरिका १ हजार ५ सय वायुको गुणस्तर मापन गर्ने यन्त्रको तथ्याङ्कलाई विश्लेषण गरेर यो परिणाम निकालेको हो ।

यसैबीच चीनमा फेरि कोरोना भाइरसका संक्रमित भेटिएका छन् । कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको वुहानमा शुक्रबार यता नयाँ संक्रमित भेटिएका हुन् । हिजो ६ जना नयाँ संक्रमित भेटिएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसअघि शनिबार ८ जना र शुक्रबार ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । योसँगै त्यहाँ संक्रमित हुनेको संख्या ८२ हजार ९ सय ४७ पुगेको छ । कोरोनाको उदगम मानिएको चीनको वुहानमा गत वर्षको डिसेम्बर ३१ देखि संक्रमण फैलिएको थियो । संक्रमणवाट चीनमा ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

Techie