ग्रिसको लेस्बोस टापूस्थित एक शरणार्थी शीविरमा आगलागी हुँदा हजारौं मानिस विस्थापित

युरोपेली मुलुक ग्रिसको लेस्बोस टापूस्थित एक शरणार्थी शीविरमा आगलागी हुँदा हजारौं मानिस विस्थापित भएका छन् । लेस्बोसको मोरिया शरणार्थी शिविरमा बुधबार भएको आगलागीका कारण उनीहरु विस्थापित भएका हुन् । यसैबीच प्रधानमन्त्री किरिआकोस मित्सोटाकिसले आपत्कालिन मन्त्रीपरिषद् बैठक बोलाएका छन् । शीविरमा कोरोना भाइरसको संक्रमण देखिएको एक सातपछि उक्त आगलागी भएको हो । आगलागीबाट ग्रिसकै सबैभन्दा ठूलो शरणार्थी शीविर पुरै ध्वस्त भएको बताइएको छ । शीविर क्षेत्रमा आराम गरिरहेकाहरु आ–आफ्ना सामग्री बोकेर दौडिरहेको देख्न सकिने भिडियोहरु बाहिर आएका छन् । यता शरणार्थीका लागि काम गर्दै आएको ‘मी लेस्भोस’ नामक संस्थाले पनि आगलागीबाट शीविरमा गम्भीर क्षति भएको भन्दै ट्विट गरेको छ । ‘मी लेस्भोस’ले आगलागीपछि नजिकैको गाउँ छिर्न खोजेका शरणार्थीहरुको झुण्डलाई स्थानीयले रोकेको पनि बताएको छ । उक्त शीविरमा करिब १३ हजार आप्रवासी शरणार्थी रहेको ‘मी लेस्भोस’ले बताएको छ । यो संख्या उल्लेख गरिएभन्दा चार गुणा बढी भएको दावी पनि उसले गरेको छ । मोरिया शरणार्थी शीविरमा आगलागी हुनुको कारणबारे प्रहरीले केही बताएको छैन । यद्दपि, उनीहरुले यसबारे अनुसन्धान चलिरहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

Techie