गैरजिम्मेवार भारतीय मिडिया : ‘फेक न्यूज’को कारखाना, टीआरपीकाे लोभमा जे पनि…

  • दिवाकर अधिकारी

काठमाडौं : मिडिया भनेको समाजको ऐना हो, त्यसको अर्थ– जे जस्तो छ, त्यो त्यस्तै प्रतिबिम्बित गर्नु । देश विदेशमा जे घटना भएका छन्, त्यसलाई सत्य तथ्यका आधारमा आम नागरिकलाई सुसुचित गर्नु नै मिडियाको धर्म हो । तर, भारतीय मिडियाको हर्कत हेर्ने हो भने लाग्छ मिडियाको कुनै धर्म नै हुँदैन, बस आफ्नो टीआरपी बढाउन जे देखाउन, लेख्न मन लाग्छ त्यही देखाउने, त्यो पनि लाजै नमानी ।

भारतीय मिडिया यतिसम्म गिरिसके कि स्वयं भारतकै नागरिकहरु उनीहरुलाई रुचाउँदैनन् । भारतीय मिडियाकर्मी दिनभर खट्छन्, केबल ‘सत्य न्यूज’लाई इडिट गरेर ‘फेक न्यूज’ बनाउन र त्यही ‘फेक न्यूज’बाट आफ्नो देशको सरकारबाहेक सबैको बदनाम गर्छन्, भारतीय मिडिया । आफ्नै देशका नागरिकमाथि विश्वास जित्न नसकेका भारतीय मिडियाकर्मी आफुले बनाएको ‘फेक न्यूज’ टेलिभिजनमा बज्दा लाजै नमानी कसरी उज्यालो अनुहार देखाएर हिँड्न सकेका होलान् ?

मिडियाको लक्ष्य भनेकै सत्य तथ्य खबर प्रवाह गरेर आम नागरिकको विश्वास जितेर अगाडि बढ्ने हो । तर, भारतीय मिडिया एकहोरो, भ्रामक र कपोल कल्पित खबर प्रचार–प्रशार गरेर टीआरपी बढाउने तिर लक्ष्ति छ । भारतीय मिडियालाई त चाहिएको छ केवल चट्पटे मसलेदार कन्टेन्ट, ता कि नागरिकहरु आफ्नो खबर पढुन्, ज्ञानका लागि नभए पनि आफ्नो टीआरपी बढाउन ।

सायदै कसैलाई रिस नउठ्दो हो, भारतीय मिडियाकर्मीले टेलिभिजनमा चिच्याउँदै अरुको बदनाम गर्दै कार्यक्रम चलाएको । उनीहरु यसरी कार्यक्रम चलाउँछन् कि मानौं अब सबै खत्तम भयो, विश्व नै ध्वस्त हुन लागेको छ । कुनै देशसँग सानातिना विवाद आयो भने भारतीय मिडिया सो विषयमा यसरी प्रस्तुत हुन्छ कि मानौं अब युद्ध नै हुन्छ, उनीहरु सैनिकदेखि बन्दुक र गोली कति वटा छ भन्नेसम्म हिसाब निकाल्न थाल्छन् । लाग्छ स्टुडियोबाटै उनीहरु युद्ध गर्न तयार छन् ।

नेपालबारे तथ्यहिन खबर

पछिल्लोसमय नेपाल र भारतबीचको सम्बन्धमा चिसोपना आएको छ । कारण हो नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर जारी गरेको नयाँ नक्सा । नेपालले नयाँ नक्सा जारी गर्ने तयारी गरेसँगै भारतीय मिडिया नेपालविरुद्ध खुलेरै लागेका छन् । उनीहरुले सैनिक कोसँग बढी छ भनेर युद्धका लागि बोलावट नै दिइसकेका छन् ।

साथै नेपालको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको विवादका कारण भारतीय मिडियामा खुसीको लहर छाएको छ । एकपछि अर्को गर्दै नेपालमाथि ‘फेक न्यूज’का आधारमा वाण हानिरहेका छन्, उनीहरु । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नै किटान गरी ‘फेक न्यूज’ बनाएर पत्रकारिताकै धज्जी उडाइसकेका छन्, उनीहरुले ।

यसैबीच भारतको चर्चित टेलिभिजन जी न्यूज बिहारले नेपालको वर्तमान राजनीतिबारे गलत र अफवहा फैलाउने किसिमले खबर प्रशारण गरेको छ । उसले प्रशारण गरेको खबरमा प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत हउ याङ्छीको नाम जोडेर तथ्यहिन लन्छना लगाइएको छ । त्यो खबर हेर्दा लाग्छ, उनीहरुले कुनै मनोरञ्जन फिल्म बनाएका हुन् । उनीहरुले खबरमा राजदूत याङ्छीले प्रधानमन्त्री ओलीलाई माया जालमा फसाको भन्नसमेत भ्याएका छन् ।

यतिमात्र होइन आफैंले अडियो दिएर प्रधानमन्त्री ओली र राजदूत याङ्छीबीचको तथ्यहिन वार्तालाप देखाइएको छ । ओली र याङ्छीको तस्विर ‘लभ साइन’ भित्र रखेर नाटकीय रुपमा खबर प्रस्तुत गरिएको छ । कुनै अर्को देशको प्रमुखको नाम जोडेर तथ्यहिन खबर प्रस्तुत गर्दासमेत उनीहरुलाई न त डर छ, न त लाज नै । सो खबर रिपोर्टमा राजदूत याङ्छीलाई हनी ट्र्यापसमेत भन्न भ्याएका छन्, उनीहरुले ।

नेपाल–भारत सम्बन्धमा भारतीय मिडिया तगारो

नेपालले नयाँ नक्सा जारी गरेपछि भारत सरकारले सो नक्सा अमान्य भन्दै कुटनीतिक वार्ताबाट समस्या समाधान गर्ने बताउँदै आएको छ । तर, भारतीय मिडिया भने नेपालसँग कुटनीतिक वार्ता होइन, युद्ध गर्न चाहन्छ ।

नेपाल सरकारकाबारेमा भारत सरकारको धारण एउटा आउँछ तर भारतीय मिडियाले त्यसलाई तोडमोड गरेर तथ्यहिन बनाएर प्रशारण गर्छ । खबरको नाममा उनीहरुले पत्रकारिताका सामान्य धर्म समेत पालना नगर्दा नेपाल–भारत सम्बन्ध थप बिग्रिने हो कि भन्ने जोखिम बढेको छ ।

दुई देशबीचको सम्बन्धलाई सुदृढ गर्न कुनै पनि देशको सञ्चार माध्यमको भूमिका अत्यन्तै महत्वपुर्ण मानिन्छ । तर भारतीय मिडियाले सम्बन्ध सपार्ने भन्दा पनि बिगार्ने तर्फ जोड दिन्छ । भारतीय मिडियालाई न आफ्नै देशका नागरिकको मत्लब छ न त आफ्नो देशसँग अरु देशको सम्बन्ध नै । भारतीय मिडियाले अहिलेको आफ्नो गैरजिम्मेवारपूर्ण हर्कत नसुधार्ने हो भने कुनै दिन भारतीय नागरिकले नै भारतीय मिडियामा आगो लागउनेछन् ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

१८ असार २०७७, बिहीबार १४:३५ १८ असार २०७७, बिहीबार १४:३५

काठमाडौं : संघीय…

२८ श्रावण २०७७, बुधबार ०७:४६ २८ श्रावण २०७७, बुधबार ०७:४६

झापा : झापाका अस्पतालले…

१४ जेष्ठ २०७७, बुधबार ०८:२० १४ जेष्ठ २०७७, बुधबार ०८:२०

काठमाडौं : नेपालको…

Techie