गण्डकी प्रदेशमा आगामी आर्थिक वर्षको बजेट आकार घट्ने

काठमाडौ । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको आकार घटाउने भएको छ । प्रदेश सरकारले विगत तीन वर्ष यता ६० प्रतिशतभन्दा बढी बजेट खर्च गर्न सकेको छैन । यद्यपि आम्दानी र अनुदान खुम्चिएका कारण आगामी आर्थिक वर्षको बजेटको आकार घट्ने प्रदेश सरकारले जनाएको छ । पहिलो वर्ष भौतिक संरचना र कानुनको अभाव देखाउँदै बजेट खर्च गर्न नसकिएको तर्क गरेको प्रदेश सरकारले दोस्रो वर्षलाई भौतिक संरचना निर्माणसहित कानुन निर्माणमा केन्द्रित भएकाले पर्याप्त बजेट खर्च गर्न नसकेको बताएको थियो ।प्रदेश सरकारले तेस्रो वर्ष पनि बजेट खर्चमा असफलता झेलेको छ । तेस्रो वर्ष बजेट खर्च हुन नसक्नुमा उसले कोरोना महामारीलाई मुख्य कारणका रुपमा देखाउने गरेको छ । चालु आर्थिक वर्षका लागि ३४ अर्ब ८४ करोड रुपैयाँ बराबरको बजेट ल्याएको प्रदेश सरकारले आउँदो आर्थिक वर्षका लागि बजेटको आकार घटाएर ३१ अर्बको हाराहारीमा सीमित राख्ने भएको छ । संघ सरकारले पठाउने अनुदान र प्रदेश सरकार आफैले उठाउने राजश्वसमेत घटेकाले बजेटको आकार घटाउने योजना बनाइएको प्रदेश सरकारको भनाइ छ । आगामी आर्थिक वर्षका लागि वित्तीय समानीकरण र राजस्व बाँडफाँटको रकम संघबाट पुरानै अनुपातमा आउने भए पनि कोभिडका कारण प्रदेशमा राजस्व संकलन कम हुने सम्भावना भएकाले बजेटको आकार घटाउने तयारी भएको बताइएको छ । प्रदेश सरकारले कोभिड, पूर्वाधार निर्माण र पर्यटनलाई विशेष महत्व दिएर बजेट निर्माण गरिरहेको प्रदेशका अर्थमन्त्री किरण गुरुङ बताउँछन् । उनले आउँदो वर्ष क्रमागत योजना पूरा गर्ने गरी बजेट ल्याउने बताए ।

तपाईको प्रतिक्रिया

Techie