गण्डकीका मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिँदै

गण्डकी- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिँदै छन् ।

मुख्यमन्त्रीको विश्वासको मत प्रयोजनका लागि आज दिउँसो १२ बजे प्रदेशसभाको बैठक बस्दै छ । वैशाख २९ गते ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा दोहोरिएका गुरुङले एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार आज विश्वासको मत लिन लागेका हुन् । गण्डकीमा विपक्षी गठबन्धनमा आवद्ध चार दलले मुख्यमन्त्री गुरुङलाई विश्वासको मत नदिन आ–आफ्ना सांसदलाई ह्वीप जारी गरिसकेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जसपा उक्त प्रस्तावलाई विफल तुल्याउन एकजुट देखिएका हुन् । ६० सदस्यीय प्रदेशसभामा सत्तारुढ नेकपा एमालेको पक्षमा एक स्वतन्त्रसहित २८ सांसद छन् ।

विश्वासको मतका लागि कम्तीमा ३१ सांसदको समर्थन आवश्यक पर्दछ । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा भने वर्तमान सरकारलाई नै समर्थन गर्ने अडानमा रहेका छन् । उनले ह्वीप उल्लंघन गरेर सरकारलाई विश्वासको मत दिएको अवस्थामा समेत आवश्यक बहुमत नजुटने देखिन्छ । अर्कोतर्फ विपक्षी गठबन्धनमा पनि काँग्रेसको १५, माओवादी केन्द्रको सभामुख बाहेक ११, राष्ट्रिय जनमोर्चाको ३ र जसपाका २ गरी ३१ सांसद छन् ।

तर, जनमोर्चाका सांसद थापाले गठबन्धनलाई साथ दिनेमा आशंका रहेकाले विपक्षीलाई पनि आफ्नो पक्षमा बहुमत पुर्याउन त्यति सहज देखिदैन ।

तपाईको प्रतिक्रिया

Techie