क्लिन फिड लागु गराउन र विज्ञापन बोर्ड गठन गर्न माग

काठमाडौ । मिडिया एलाइन्स नेपालले सरकारसँग क्लिन फिड लागु गराउन र विज्ञापन बोर्ड गठन गर्न माग गरेको छ । एलाइन्सका पदाधिकारीले आज अर्थमन्त्री विष्णु पौडेल र सञ्चार, सूचना तथा प्रविधि मन्त्री पार्वत गुरुङलाई भेटेर तत्काल दुईवटा काम कार्यान्वयन गराउन माग गरेका हुन् । एलाइन्सका अध्यक्ष भाष्करराज राजकर्णिकारले पछिल्लो समय सञ्चार उद्योगहरु आर्थिक रुपमा संकटग्रस्त भएको भन्दै सरकारले सहयोग गर्नुपर्ने बताए । त्यस्तै क्लिन फिड लागु गर्न र तत्काल विज्ञापन बोर्ड गठन गर्न पनि अध्यक्ष राजकर्णिकारले आग्रह गरे ।
सरकारले कात्तिक सात गतेदेखि लागु गराउने भनेको क्लिन फिडको स्वागत गर्दै एलाइन्सले त्यसबाट पछि नहट्न अर्थ र सञ्चार मन्त्रीलाई आग्रह गरेको हो । विज्ञापन वोर्ड पनि दशैं अघि नै गठन गर्न एलाइन्सले ध्यानाकर्षण गराएको छ ।
एलाइन्सको ध्यानाकर्षणपछि मन्त्री गुरुङले कोरोनाले मिडिया टिकाउन कठिन भएको अवस्थामा सरकारले मिडिया क्षेत्रलाई गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता जनाए । सरकारले करछुट र सहुलियत कर्जा उपलब्ध गराउन पनि पहल गर्ने बताए ।
विज्ञापन बोर्ड गठनको प्रक्रिया पनि तत्कालै अघि बढाउने र त्यसको प्रक्रिया अघि बढिसकेको मन्त्री गुरुङले जानकारी दिए । मिडिया एलाइन्सले यसअघि प्रधामन्त्री केपी ओलीलाई भेटेर कोरोना संक्रमणपछि सञ्चारक्षेत्रमा देखापरेका समस्या समाधानका लागि ध्यानाकर्षण गराएको थियो ।

तपाईको प्रतिक्रिया

Techie