कोरोना सङ्क्रमणसँगै मृत्युको ग्राफ बढ्दो, पछिल्लो एकसातामा मात्रै ३१ जनाको मृत्यु

काठमाडौँ । मुलुकमा कोरोना भाइरस (कोभिड–१९ ) को सङ्क्रमणसँगै मृत्युको ग्राफ क्रमशः बढ्दै गएको छ । बुधबार एकै दिन कोरोनाका कारण आठ जनाले ज्यान गुमाए । आज बिहीबार चार जनाले ज्यान गुमाएका छन् ।
यही साउन २२ देखि २९ गतेसम्मको आठ दिनमा मात्रै कोभिड–१९ सङक्रमित ३५ को मृत्यु भएको छ । यससँगै हालसम्म ९५ जनाको मृत्यु भइसकेको छ । कोभिड–१९ ले विगतमा फाट्टफुट्ट रुपमा मानिसको मृत्यु भएकामा साउन लागेपछि दैनिक रुपमा तीनदेखि आठ जनासम्मको ज्यान गएको छ ।
विश्वको तुलनामा नेपालको मृत्युदर अत्यन्त न्यून भए पनि पछिल्ला तथ्याङ्कले मृत्युदर बढ्दो देखिएको छ । मृत्यु भएकामध्ये ५० प्रतिशत मधुमेह, अर्बुदरोग, फोक्सो र मिर्गौलारोगी रहेको र ५० प्रतिशत भने निरोग व्यक्ति छन् ।
नेपालमा सङ्क्रमितमध्ये झण्डै शून्य दशमलव ४ प्रतिशत मृत्युदर छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोभिड–१९ को मृत्यु दर विश्वमा तीन प्रतिशत छ । कतिपय मुलुकमा तीन प्रतिशत माथि पुगेको छ । तथ्याङ्क हेर्दा मुलुकमा सङ्क्रमणसँगै मृत्युदर पनि क्रमशः बढ्दो छ । पछिल्लो एक साताको विवरण केलाउँदा बढ्दो ग्राफको प्रष्ट तस्वीर पाइन्छ । साउन २१ देखि २८ सम्म तीन हजार २० नयाँ सङ्क्रमित फेला परे । काठमाडौँ उपत्यकामा मात्रै एक सातामा ६६६ नयाँ सङ्क्रमित भेटिए । उपत्यकाका तीन जिल्लाका सङ्क्रमितमध्ये झण्डै ९० प्रतिशत काठमाडौँ जिल्लाका छन् । यी विवरणले क्रमशः कोभिड–१९ को जोखिम उच्च वृद्धि भइरहेको देखाउँछ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले मुलुक दोस्रो तहको सङ्क्रमणमा छ । निश्चिम क्षेत्रमा महामारीका रुपमा कोभिड–१९ फैलिएको छ, अझै नियन्त्रण बाहिर गएको छैन । काठमाडौँसहित पर्सा, रौतहट र महोत्तरी जिल्लामा कोभिड–१९ महामारीका रुपमा देखिन्छ, त्यसपछि दोस्रामा मोरङ, बाँकेलगायत केही जिल्ला छन् । मानिसले स्वास्थ्य मापदण्ड नअपनाउँदा जोखिम बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रबक्ता डा जागेश्वर गौतम बताउँछन् । दुई मिटर दूरी कायम गरेर नियमित मास्क मात्रै लगाउने हो भने पनि ९६ प्रतिशत सङ्क्रमण रोक्न सकिने जनस्वास्थ्य विज्ञको भनाइ छ । “जनस्वास्थ्यको मापदण्ड नै फलो नगर्ने, भीडभाड बढाउने, टेर्दै नटेर्ने, जस्ता क्रियाकलापले ेसङ्क्रमण रोक्न नसकिने डा गौतम बताउँछन् ।
जोखिम बढेपछि सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र निस्किएमा पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्रै हिँड्न भनेको छ । मुलुकभर बन्दाबन्दी घोषणा नगरिए पनि सरकारले सङ्क्रमण रोक्न अन्तरराष्ट्रिय सीमा नाका आवागमन रोक्नेदेखि अन्य आवश्यक निर्णय गर्दै आएको छ । आफ्नो सीमा क्षेत्रमा निर्णय गर्ने अधिकार स्थानीय तह र जिल्ला प्रशासनलाई दिइएको छ । सोहीअनुसार कतिपय जिल्ला र स्थानीय तहले आआफ्नै ढङ्गले जोखिम विश्लेषण गरी सिल गर्नेदेखि निषेधाज्ञा र लकडाउनसम्मका निर्णय गर्न थालेको छ ।

एक हप्ताको सङ्क्रमण र मृत्युको अवस्था

साउन २२ देखि २८ सम्म एकसाताका अवधिमा मात्रै ३१ जनाले ज्यान गुमाएका छन् । विहिबार थप चार जनाले ज्यान गुमाए । साउन २८ गते ४६४ जना नयाँ पोजेटिभ देखिँदा त्यसमा १३९ जना काठमाडौँ उपत्यकाका थिए । त्यसमा पनि १०९ जना काठमाडौँ जिल्लाका भेटिए । धनुषाका दुई तथा काठमाडौँ, धादिङ, सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एकएक गरी बुधबार एकै दिन सबैभन्दा बढी आठ जनाले ज्यान गुमाए । आजसम्म ९५ जना नेपालीले कोरोनाबाट ज्यान गुमाइसकेका छन् । साउन २७ गते ६३८ नयाँ सङ्क्रमित थपिएकामा उपचारका क्रममा रहेका काभ्रेपलाञ्चोक, धनुषा, सिन्धुपाल्चोकका गरी चार जनाको मृत्यु भयो । उपत्यकामा १३६ नयाँ सङ्क्रमित भेटिए ।
साउन २६ गते चार जनाले ज्यान गुमाए । त्यस दिन ३३८ नयाँ संक्रमितमध्ये ४४ जना उपत्यकाका थिए । साउन २५ गते ३८० जनामा देखिँदा उपत्यकाका ९२ जना थिए । त्यस दिन दुई जनाले ज्यान गुमाए । साउन २४ गते ३७८ जना मध्ये उपत्यकामा ६२ जनामा देखियो । त्यस दिन तीन जनाले ज्यान गुमाए । साउन २३ मा ४६२ जनामा देखिएको थियो । उपत्यकामा मात्रै १०६ जना भेटिए । त्यस दिन पाँच जनाको मृत्यु भएको थियो ।
साउन २२ गते ३७० जना सङ्क्रमित हुँदा उपत्यकामा ८७ जना थिए । त्यस दिन पनि पाँच जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज मात्रै ५२५ नयाँ सङ्क्रमित थपिए । हालसम्म झण्डै २५ हजार सङ्क्रमित फेला परेका छन् । मुलुकमा उपचारपछि निको भएको दर भने आशालाग्दो छ । स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ६८ दशमलव ५ प्रतिशत छ । अहिले सरकार परीक्षणको दायरा बढाउँदै दैनिक १० हजार जनाको पिसिआर परीक्षण गर्न सक्ने अवस्थामा पुगेको छ ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

१० श्रावण २०७७, शनिबार १६:३१ १० श्रावण २०७७, शनिबार १६:३१

  काठमाडौं:  नेपालमा…

१ असार २०७७, सोमबार ०८:३६ १ असार २०७७, सोमबार ०८:३६

रसुवा : नेपाल चीन…

१६ श्रावण २०७७, शुक्रबार ०८:५२ १६ श्रावण २०७७, शुक्रबार ०८:५२

वीरगञ्ज : वीरगञ्जमा…

Techie