कोरोना संक्रमण बढ्दै गएपछि प्रमुख शहरहरुमा निषेधाज्ञा

काठमाडौ । कोरोना संक्रमण व्यापक बन्दै गएपछि देशका प्रमुख शहरहरुमा निषेधाज्ञा जारी छ । स्थानीय प्रशासनले विराटनगर र वीरगञ्जमा यस अघि नै निषेधाज्ञा जारी गरिसकेको छ भने बाँके र बारामा आज बिहानैदेखि निषेधाज्ञा लागु गरेको छ । बारामा अर्काे सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिएका छन् । यसैगरी जनकपुरधाम उपमहानगरपालिकामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । सोमवार राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ । त्यस्तै झापाको विर्तामोड नगरपालिकाले आइतबार राति १२ बजेदेखि फेरि लकडाउन गर्ने निर्णय गरेको छ।नगर प्रहरी, कर्चमारी र सुरक्षाकर्मीमा संक्रमण देखिएकाले जोखिम बढेको भन्दै लकडाउन गर्ने निर्णय भएको मेयर ध्रुवकुमार शिवाकोटीले जानकारी दिए।

त्यस्तै कोरोनाको जोखिम बढेपछि बाँकेमा पनि स्थानीय प्रशासनले आजदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गरेको छ । नेपालगञ्जमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एकै दिन ३० जनामा संक्रमण देखिएपछि प्रशासनले पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । कोरोनाको जोखिम हुन नदिन तीन दिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । उनका अनुसार, अत्यावश्यकीय कामबाहेक घर बाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ । प्रशासनको आग्रहलाई अटेर गरी अनावश्यक रूपमा हिँडडुल गरेको पाइएमा कानूनबमोजिम कारवाही हुनेछ । नेपालगञ्जका तीन आइसोलेसन केन्द्र र खजुरास्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा गरी बाँकेका ५४ संक्रमितलाई राखिएको छ । बाँकेमा हालसम्म कोरोनाबाट दुई जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ४ सय ३७ पुगेको छ ।

तपाईको प्रतिक्रिया

Techie