कोरोना संक्रमणबारे अफवाह फैलाउने युवक पक्राउ

काठमाडौं : कोरोना भाइरससम्बन्धी अफवाह फैलाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । कोरोना भाइरससम्बन्धी अडियो बनाउने भक्तपुर सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रामेछाप घर भई उनी भक्तपुरको सिपाडोल बस्दै आएका थिए । उनले काठमाडौँको नर्भिक अस्पतालमा कोरोना भाइरस संक्रमणका बिरामी भेटिएको भन्दै उनले अफवाहपूर्ण अडियो सामाजिक सञ्जालमा भाइरल बनाएका थिए ।

उक्त अडियोमा नेपालमा कोरोना लागेको भनेर भ्रामक प्रचार गरिएको छ । प्रहरीले गलत हल्लाका पछि नलागी नेपाल सरकारको आधिकारिक सूचना र जानकारीबारे ख्याल गर्नसमेत भनेको छ ।

नर्भिक इन्टरनेशनल अस्पताल काठमाडौँले अस्पतालमा कोभिड–१९ का बिरामी भेटिएको भनेर कपोलकल्पित सूचना प्रचार भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अस्पतालले शनिबार एक विज्ञप्ति जारी गरी हालसम्म कोरोना भाइरसका कुनै पनि बिरामी फेला नपरेको स्पष्ट पारेको छ । त्यस्ता सूचना सार्वजनिक गर्नु सामाजिक अपराध भएकाले विज्ञप्तिमा कानूनी कारवाहीको माग गरिएको छ ।

तपाईको प्रतिक्रिया

Techie