काठमाडौं : कोरोना भाइरस संक्रमणबाट विदेशमा यो साता थप तीन जना नेपालीको मृत्यु भएको छ । गैर आवासीय नेपाली संघका अनुसार यो साता युएईमा दुई र बेलायतमा एक जना नेपालीको मृत्यु भएको हो ।
अहिलेसम्म विभिन्न १६ देशमा १ सय ९५ नेपालीको मृत्यु भएको संघले जनाएको छ । अष्ट्रेलिया र युरोपका केही देशमा दोस्रो लहर सुरु भएपछि नेपाली समुदायमा संक्रमण सामान्य रुपमा बढेको हो ।
हालसम्म विदेशमा मात्र ३४ हजार ७ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । ३२ हजार ५ सय ११ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
हालसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरुमा संक्रमण पुष्टि भएको छ । संघका अनुसार हालसम्म विदेशमा अलपत्र परेका ५३ हजार ६ सय ९९ जना नेपालीको उद्धार भएको छ ।