कोरोना महामारीकै बीच पर्यटकका लागि खुल्यो दुबई

एजेन्सी । कोरोनाभाइरसको महामारीकै बीच पर्यटकका लागि मंगलबारदेखि दुबई खुलेको छ । पर्यटक आवागमनको अनिश्चितता र कोरोनाभाइरससँग अझै धेरै मुलुकहरु जुधिरहेको अवस्थामा यहाँका ठूला सपिङ मल र पर्यटकीय गन्तव्यहरु खुला गरिएका छन् । विश्वकै अग्लो भवन बुर्ज खलिफा र बुर्ज अल–अबर लक्जरी होटल जस्ता संरचना निर्माण गरिएको दुबईमा विश्वकै सबैभन्दा व्यस्त विमानस्थल दुबई अन्तर्राष्ट्रिय विमानस्थल पनि रहेको छ । दुबई सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न यहाँको सरकारले प्रयास थालिसकेको छ । नजिकिँदै गएको हिउँदे महिनामा पर्यटकलाई यहाँ आमन्त्रण गर्न दुबईले तयारी थालेको छ । मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको दुबईमा थर्मोमिटरबाट प्रत्येक आगन्तुकको शरीरको तापक्रम नाप्ने व्यवस्था गरिएको छ ।

सन् २०१९ मा मात्र दुबईमा एक करोड ६७ लाख मानिसले भ्रमण गरेका थिए । अघिल्लो वर्ष यहाँ १ करोड ५९ लाख मानिसले भ्रमण गरेका थिए । यहाँ सबैभन्दा बढी पर्यटक भारत, साउदी अरेबिया, बेलायत, ओमान, चीन, रसिया र अमेरिकाबाट आएका थिए ।

तर दुबईमा जोखिम भने यथावत् छ । दुबईको राष्ट्रिय ध्वजाबाहक इमिरेट्सले कोरोनाभाइरसको जोखिम देखाउँदै हवाई उडान स्थगित गरेको छ । करिब ९० लाख जनसंख्या रहेको युएईमा ५० हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । तर यीमध्ये करिब ४० हजार निको भइसकेका छन् भने ३२१ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

Techie