कोरोना फैलाउन चीनको भूमिका छ, अमेरिकाले अनुसन्धान गरिरहेको छ : ट्रम्प

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरस फैलाउन चीनको भूमिका रहेको आरोप लगाउँदै आफ्नो प्रशासनले त्यसबारे अनुसन्धान गरिरहेको बताएका छन् । कोरोना भाइरस सम्बन्धी पत्रकार सम्मेलनमा उनले कोरोना रोकथामका लागि चीनले चालेको कदमबारे अत्यन्त गम्भीर ढंगले अनुसन्धान गरिरहेकोे जानकारी दिएका हुन् ।

चीनतर्फ लक्षित गर्दै कोरोना भाइरस महामारी फैलिनुमा एउटा देशबाहेक अरू कसैलाई पनि जिम्मेवार ठहर्‍याउन नसकिने ट्रम्पले उल्लेख गरे । उनले कोभिड १९ रोक्न चीन पूर्णतः असफल भएको दाबी पनि गरे । आफूले अर्थतन्त्रलाई इतिहासमै सर्वोच्च तहमा पुर्‍याएको तर त्यसलाई बन्द गर्न दबावमा परेको पनि उनले बताए ।

उनले परीक्षणहरू बढाउने योजना पनि सार्वजनिक गरेका छन् । अमेरिकामा ५५ हजार जनाभन्दा बढीले कोरोना भाइरसका कारण ज्यान गुमाइसकेका छन् ।

उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्यलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला ट्रम्पले किमले के गरिरहेका थिए भन्ने आफूलाई थाहा भएको पनि बताए । किमबारे विस्तृत विवरण दिन नसक्ने तर किम सकुशल थिए भन्नेमा आफू रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया

Techie