कोरोना नियन्त्रणका लागि चेतना जगाउन घरदैलो गर्न राष्ट्रियसभा अध्यक्षको सांसदलाई सुझाव

काठमाडौं : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि घरघरमा पुगेर जनचेतना फैलाउने जिम्मेवारी जनप्रतिनिधिको भएको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित अन्तरक्रियामा उनले चुनावमा भोट माग्न जस्तै महामारीको समयमा पनि जनप्रतिनिधि घरघर पुग्नुपर्ने बताएका हुन् । कोभिड रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मीसँगै जनप्रतिनिधिले घरदैलो मै पुगेर सचेतना जगाउनुपर्ने अध्यक्ष तिमल्सिनाको भनाइ छ ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पछिल्लो परिस्थिति अनुसार कुल जनसंख्याको २ प्रतिशत सम्म संक्रमण हुने अनुमान सरकारले गरेको जानकारी दिए । अबको चार महिनामा करिब १ लाख ४८ हजार जनामा संक्रमण पुष्टि हुनसक्ने अनुमान गरिएको उनको भनाइ छ ।

मन्त्री ढकालले सरकार सामथ्र्य अनुसार संक्रमण रोकथामका लागि सरकार युद्धस्तरमा लागिरहेको दावी पनि गरे । कोरोना संक्रमण र यसको उपचारको सम्बन्धमा पछिल्लो समय नागरिकको बुझाइका कारण सरकारलाई काम गर्न सहज भएको पनि उनले बताए । कुल सक्रिय संक्रमितहरु मध्ये ८० प्रतिशत होम आइसोलेसनमा रहनुले नागरिकको बुझाइमा परिवर्तन आएको उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया

Techie