कोरोनासँग लड्न ट्रम्पको यस्तो छ योजना

एजेन्सी : कोरोना भाइरसको महामारी उच्च विन्दुमा पुग्दा त्योसँग जुझ्न अमेरिका निकै राम्रो अवस्थामा हुने राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् । ह्वाइटहाउसमा सोमवार आयोजित नियमित पत्रकार सम्मेलनमा उनले आगामी दुई सातामा संक्रमण फैलिएका राज्यहरूलाई भेन्टिलेटर र अरू स्वास्थ्य सामग्री पठाउन सकिने अवस्थामा पुगिने बताएका हुन् ।

ट्रम्पले पछिल्लो समयमा कम्तीमा १० कम्पनीहरूले भेन्टिलेटरहरू बनाइरहेको पनि उनले जानकारी दिए । उनका अनुसार अहिलेसम्म आठ हजार एक सय भेन्टिलेटरहरू निर्माण गरेर पठाइसकिएको छ ।

राष्ट्रपति ट्रम्पले अमेरिकालाई चाहिनेभन्दा बढी उत्पादन भएपछि त्यस्ता उपकरणहरू देशबाहिर पठाउने आफ्नो योजना समेत सुनाए । सामग्री पठाइने देशमा उनले उच्च प्रभावित इटली, फ्रान्स र स्पेनको नाम समेत उनले लिए । इटलीलाई १० करोड डलर बराबरका ’सर्जिकल र मेडिकल’ सामग्री पठाइने पनि उनले बताए ।

ट्रम्पले केही राज्यहरूले आफूहरूलाई चाहिनेभन्दा बढी सामग्री थुपारेर राखेको आरोप दोहोर्‍याए । पत्रकार सम्मेलनमा ट्रम्पले एक प्रयोगशाला कम्पनीले तयार पारेको ’पाँच मिनेटमै जाँच’ गर्न सकिने किट देखाउँदै त्यसले दिने नतिजा निकै विश्वसनीय रहेको दावी पनि गरे ।

यसअघि विज्ञहरुले संक्रमणबाट अमेरिकामा दुई लाखको मृत्यु हुन सक्ने चेतावनी दिएका थिए । ट्रम्पले आउँदा तीस दिनलाई निकै महत्वपूर्ण भन्दै सामाजिक दूरी कायम राखेर दश लाखभन्दा बढी अमेरिकीको जीवन बचाउन सकिने पनि उल्लेख गरे ।

उनले अहिलेसम्म अमेरिकामा १० लाख भन्दा बढीमा भाइरस जाँच गरिएको भन्दै त्यो अन्य कुनै पनि देशमा भन्दा बढी रहेको दाबी गरे ।

तपाईको प्रतिक्रिया

Techie