कोरोनाविरुद्धको खोप अभियान शुरु, डा. सागरराज भण्डारीले लगाए पहिलो खोप

काठमाडौं : कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन शुरु गरिएको छ । आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गरेसँगै देशैभरी खोप लगाउन शुरु गरिएको हो ।

नेपालमा कोरोना भाइरसविरुद्ध खोप लगाउने पहिलो नेपाली टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख डा. सागरराज भण्डारी भएका छन् । उनले पहिलो खोप लगाएका थिए ।

त्यसपछि डा. अनुप बास्तोला र तेस्रो खोप राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी निर्देशक रुना झाले कोरोना भाइरसविरुद्धको खोप लगाएकी थिइन् । यसैगरी ८० वर्षीय डा.नेत्रबहादुर अमात्यले पनि कोरोनाविरूद्धको खोप लगाएका छन् ।

प्रधानमन्त्रीले खोप कार्यक्रम सुरु गरेसँगै सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृतमा परेका व्यक्तिलाई एकैसाथ खोप दिइएको छ ।

यस्तै ७७ जिल्लाका तीन सय खोप केन्द्रमार्फत खोप प्रदान गरिएको छ । नेपालमा कोभिड–१९ को संक्रमण देखिएको एक वर्षपछि नेपालीले खोप पाएका हुन् ।

नेपालमा पहिलोपटक २०७६ माघ ९ गते चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा संक्रमण देखिएको थियो । काठमाडौँमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र रहनेछन् ।

भारत सरकारको अनुदानमा यही माघ ८ गते १० लाख मात्रा उक्त खोप नेपाल आएको हो । स्वास्थ्य मन्त्रालयले पहिलो चरणको खोप अभियान सुरु गरेको १० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

यस चरणमा चार लाख ३० हजारलाई खोप प्रदान गरिने छ । कोभिशिल्ड खोप अक्सफोर्ड विश्वविद्यालय र एक्ट्राजेनिका नामक औषधि उत्पादक कम्पनीले संयुक्तरूपमा विकास गरेका हुन् ।

भारतको सेरम इन्स्टिच्युटले खोप उत्पादन गरेको हो । खोप फोहरमैला व्यवस्थापनमा खटिने फोहर संकलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धााश्रममा रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीले पाउनेछन् ।

त्यसपछि पहिलो खोप लगाएको चार हप्तापछि अर्को मात्राको खोप दिइने छ । खोप देव्रे पाखुराको माथिल्लो बाहिरी भागमा ९० डिग्री कोण बनाएर दिइने छ ।

खोप लगाएपछि सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुनसक्ने, सामान्य ज्वरो आउने, टाउको दुख्ने, थकाइ र आलस्य महसुस हुने तथा वाकवाक लाग्नेजस्ता समान्य असर देखिने चिकित्सकले बताएका छन् ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

१० भाद्र २०७७, बुधबार ०८:३६ १० भाद्र २०७७, बुधबार ०८:३६

काठमाडौं : कोरोना…

७ माघ २०७७, बुधबार १२:१५ ७ माघ २०७७, बुधबार १२:१५

काठमाडौं : प्रतिनिधिसभा…

१६ श्रावण २०७७, शुक्रबार १५:४८ १६ श्रावण २०७७, शुक्रबार १५:४८

काठमाडौ । कोरोना…

Techie