कोरोनाले थला परेका व्यवसायको पुनर्स्थापना मा सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याइने

काठमाडौं : नेपाल राष्ट्र बैंकले कोरोना भाइरसका कारण थला परेका व्यवसायहरुको पुनर्स्थापनामा सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याउने भएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण कसैलेपनि व्यवसाय बन्द गर्नुपर्ने अवस्थाको अन्त्य गर्नेगरी नीतिहरु बन्ने जानकारी दिएका हुन् ।

कोभिड संक्रमणका कारण मारमा परेका व्यवसायीहरुले आफ्नो व्यवसायलाई निरन्तरता दिन सक्ने गरी नीतिहरु ल्याउने तयारी केन्द्रिय बैंकले गरेको हो । बैंकले अहिले अति प्रभावित, मध्यम प्रभावित कम प्रभावित व्यवसायहरुको विश्लेषण गरिरहेको जानकारी दिएको छ ।

सरकारले आगामी आर्थिक वर्ष ७ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण गरेपनि कोरोनाको अनिश्चितता नहट्दा सम्म कुनै पनि कुराको टुंगो नहुने केन्द्रिय बैंकको भनाइ छ । कोरोना संक्रमणको जोखिम शून्यमा पुगेपछि बजार सञ्चालनमा आएमात्रै सरकारले लिएका लक्ष्यहरु प्राप्त हुने राष्ट्र बैंकको निष्कर्ष छ ।

बजार चलायमान भएपछि बैंकिङ सिस्टममले पनि प्रसस्त तरलता दिने र त्यसपछि व्यवसायिक कृयाकलापहरु बढ्दै जाने बैंकले विश्वास लिएको छ । नेपाल राष्ट्र बैंकले नयाँ आर्थिक वर्षको मौद्रिक नीति आगामी साउन पाँच गते सार्वजनिक गर्ने तयारी गरेको छ ।

यसका लागि राष्ट्र बैंकले सरोकारवाला निकाय तथा तालुकदार निकायहरुसाथ छलफल गरिसकेको छ । आगामी आर्थिक वर्षको लागि आउने मौद्रिक नीतिले बजेट, नीति तथा कार्यक्रमले समेट्न नसकेका राहात प्याकेज घोषणा गर्ने तयारी छ ।

तपाईको प्रतिक्रिया

Techie