कोरोनाबाट मृत्यु भएका स्याङ्जाका वृद्धको शव अझै आइसोलेसनमै, जोखिम झन् बढ्ने सम्भावना

  • सुमन ढुंगाना

पोखरा : कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएका स्याङ्जा वालिङका ६० वर्षीय वृद्धको शव अझैपनि आइसोलेसनबाट निकालिएको छैन । गत २१ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत उनको गएराति ११ बजे मृत्यु भएको थियो । तर १२ घणटाभन्दा बढी समय बितिसक्ता पनि उनको शवलाई आइसोलेसनबाट निकालिएको छैन ।

प्रतिष्ठानको आइसोलेसन सेन्टरमा १० वटा बेड छन् र त्यहाँ ती वृद्धबाहेक अन्य बिरामीको समेत उपचार भइरहेको छ । यसरी १२ घण्टाभन्दा बढी समय बितिसक्दा पनि शव आइसोलेसनबाट ननिकालिएपछि त्यहाँ रहेका अन्य बिरामीमा मानसिक असर पर्ने जोखिम बढेको छ । साथै शव बिरामीसँगै एकै ठाउँमा विना सुरक्षा राखिरहँदा त्यसबाट फैलिनसक्ने किटाणु तथा दुर्गन्ध लगायतका नकारात्मक प्रभावबारे पोखराका प्रशासनीक निकाय जागरुक नदेखिँदा समस्या उत्पन्न भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका प्रमुख डा विनोद विन्दु शर्माले शव व्यवस्थापनको जिम्मा प्रशासन र नेपाली सेनाको भन्दै अभिव्यक्ति दिँदै आफुलाई केही थाहा नभएको भनेर पन्छिएका छन् । कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसादढकालले पोखरा महानगरपालिकाले शव व्यवस्थापन गर्ने ठाउँ खोजिरहेको र ठाउँको टुंगो लागेपछि नेपाली सेनाले शवको व्यवस्थापन गर्ने बताए ।

प्रदेश सरकारले कोरोना संक्रमितको मृत्यु भएको खण्डमा शव व्यवस्थापन गर्ने ठाउँ तथा कार्यविधि तय नगर्दा यस्तो समस्या उत्पन्न भएको हो ।

मृतकका छोरी गण्डकी अस्पतालको नर्स र श्रीमती क्वारेन्टाइनमा रहेका छन् । उनीहरुले पहिले शव स्याङ्जाको वालिङ लाने भनेका थिए । तर पछि प्रशासनले तोकेको ठाउँमै शव व्यवस्थापन गर्न सहमति जनाइसकेका छन् ।

संक्रमित व्यक्ति २२ गते सुनौली नाकाबाट स्याङ्जा आएका थिए । नाकामा अलपत्र परेको अवस्थामा वालिङ नगरपालिकाले उद्धार गरेको थियो । उनी पहिलेदेखि नै मिग्रौलाका दीर्घ रोगी रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

Techie