कोइला पिस्ने मेसिनमा परी एक बालकको मृत्यु

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ८ तिलाचौरमा रहेको जगदम्बा इँटा उद्योगमा काम गर्ने एक बालकको कोइला पिस्ने मेसिनमा परी मृत्यु भएको छ ।

इँटा उद्योगमा ज्याला मजदुरी गर्दै आएका १३ वर्षीय बालक अर्जुन पुजाराको गए राति उद्योगमा काम गर्दै गर्दा कोइला पिस्ने मेसिनमा परी टाउको र शरीर अलग भई मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए।

भीमदत्त नगरपालिका वडा नम्बर १० बस्ने ती बालक सिद्धनाथ माविमा कक्षा ८ मा अध्ययनरत थिए तर कोभिड १९ को सङ्क्रमण बढिरहेका कारण विद्यालय बन्द भएपछि एक साता अघिदेखि मात्रै दैनिक ज्यालादारीमा काम गर्दै आएको प्रहरीले जनाएको छ । मृतक बालकको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ ।

इँटा उद्योगमा बालकलाई मजदुरी गर्न लगाई बाल शोषण गरेको भन्दै अधिकारकर्मी तथा स्थानीयहरूले उद्योग सञ्चालकको विरोध गरेका छन् भने उद्योग सञ्चालकलाई कानुनी कारबाही र क्षतिपूर्ति नभएसम्म शव नबुझ्ने परिवारजनको अडान छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie