कुलमानकाे अवकासमा हाैसिएका बिचाैलियाहरु !

  • केदार कोइराला

कुलमान हटाउ अभियानमा हात धाेएर लागिपरेका प्राधिकरण माफियाहरू जसरी भएपनि कुलमानकाे उज्यालाे अभियान समाप्त पार्न साउने ब्रत बसेका छन् । भदाैसँगै बिदा हुन लागेका कुलमान घिसिङ फेरि कार्यकारी हुने हुन् कि भन्ने चिन्ताले थला परेका बिचाैलियाहरू नारदकाे रूपधारण गरेर शक्ति केन्द्रकाे चक्कर काट्न थालिसके । वर्षमान देखि हर्षमान, बालुवाटारदेखि खुमलटारकाे दाैडमा खटिएका ‘ब्राेकर ब्राे’हरूकाे जमघट मेरिएट हाेटलकाे स्विटरूममा दिनहुँ हुने गरेकाे नागपाेखरीकै नागराजले वाचन गर्दै हिँडेका छन् ।

वर्षौंदेखि गाेदाममा थन्किएका जेनरेटर र इन्भर्टरकाे गाेदाम चार्जसमेत जाेडेर बसेका मारबाडी मित्रहरू दानदक्षिणाका लागि रकम संकलनमा खटिसकेका छन् । कुलमानकाे ठाउँमा आफ्नै चतुर्मानलाई बिराजमान गराएर असुलउपर गर्ने दाउमा खटिएका साहुमहाजनले ढुकुटी भरेकाे सूचना नारदमुनीले राजगद्दीकाे ढाेकेसामु चुहाएपछि र्‍याल चुहाउनेकाे ताँती लागेकाे खबर छ । उज्यालाे प्राधिकरणकाे चिर हरण गरेर अन्धकार निम्त्याउन उद्दत बिचाैलियाकाे हर्कत बीचैमा राेकेर आवाज बुलन्द नगर्ने हाे भने फेरि टुकी युगमा फर्कनुपर्ने पक्का पक्की गरिसके नारदमुनीहरूले । बुढी मर्ली भन्दानी काल पल्केला भन्ने उक्ति पनि फेल खाइसक्याे । किनभने काल पल्किसक्याे लगानी बाेर्डमार्फत् ।

भट्ट ब्रदर्सकाे ढुकुटीबाट बामदेवले राम्रै रकम झ्वाम पारे लाैन ठाेक्नु पर्‍यो भन्दै हस्याङ फस्याङ गर्दै आइपुगेका कमरेड मित्रले स्कुप छ आज भन्दै निम्ता गरे । कफिकाे चुस्किमा ह्विस्किकाे स्वाद लिँदै गफ्फिन थालेका कमरेडले ब्रेक नलगाई भन्न थाले । थाहा छ तपाईंलाई- बामदेव किन ओलीतिर लागे ? अहँ मलाई था छैन, मेराे बाेली झर्न नपाउँदै कमरेडले थपे “सुशील भट्टलाई बाेर्डमा लैजाने पक्का गर्नाेस्, म तपाईंकाे कित्तामा सुझावसहित उपस्थित हुन्छु । बामदेवले पिएमलाई फन्दामा पारेर नियुक्ति खाकाे हाे भट्टले अरू केही हाेइन ।”

यति क्लु छाडेर बेपत्ता भएका कमरेड हिजाे एकाबिहानै हाजीर हुन फेरि उपस्थित भए । नागपाेखरीकाे मेरिएट हाेटलमा हुने नारदमुनीहरूकाे पलपलकाे खबर टेपरेकर्डर जस्तै फररर वाचन गरिसकेपछि मलाई नै प्रश्न गरे, छैन त इन्ट्रेस्टिङ कुराे ? सत्य असत्य के हाे मलाई था भएन तर ती कमरेडले ठाेकुवा गर्दै भने “हेर्दै जानाेस् अब झलनाथ पनि ओलीकाे कित्तामा आएनन् भने म कान काट्छु ल ।” हावादारी गफ धेरै गर्न थाल्नु भएछ तपाईं, मात्रै के निस्केकाे थ्याे मेराे मुखबाट, भटटट कमरेडले धाराप्रवाह दिहाल्नुभाे ल सुन्नुस् “झलनाथकाे छाेराेलाई भैरहवा एयरपाेर्टकाे ठेक्का दिलाउने त्यै भट्ट हाे । झलनथाकाे कित्ताकाट गर्ने जिम्मा पनि उसैले लिएकाे छ । लेखराज भट्टदेखि टाेप बहादुरकाे खर्चबर्च सबै उसैले धानेकाे छ । वर्षमानले दायाँबायाँ गरे भने आफैं खुस्किन्छन् । भीम रावल उपप्रधानमन्त्री भए भने अचम्म नमान्नु हाेला ।” पुग्याे कि अरूनि खाेलाैं ? केरकारकै सैलीमा पाे प्रश्न गर्न थाले ती कमरेडले । झाेक देखाएर नि के गर्नु सुनिरनुकाे विकल्प थिएन मसँग ।

कमरेडका कुराले घाेत्लिन बाध्य बनायाे । याेगेश भट्टराईकाे क्रान्तिकारीता सम्झें, घनश्याम कमरेडकाे निष्ठा र आदर्शकाे राजनीतिमा विश्राम लागेकाे झलझलि याद आयाे, शक्ति बस्नेतकाे सर्बहारा नीतिले चेपाङलाई चेपुवामा पारेकाे घटना सेलाकाे छैन । जनार्दन र वर्षमानकाे बाध्यता अनि उता प्रजातन्त्रका मसिहा विश्वप्रकास शर्माकाे विश्वव्यापीकरणले बुढानिलकण्ठमा पुगेर लिएकाे विश्राम मथिंगल घुमाउन पर्याप्त थियाे, छ । के यी सबै नाैटंकी गणतन्त्रले दिएकाे उपलब्धि हाे ? आफैंले आफुलाई प्रश्न गर्न मन लाग्याे ।

कुराे ४२ सालकाे सत्याग्रहकाे हाे । हामी सत्याग्रही भद्रगाेल जेलमा बन्दी थियाैं । सुशील काेइरालादेखि कृष्णराज बर्मासम्म, प्रकाशमानदेखि गाेपालमानसम्मकाे कांग्रेसी भीडभाड थियाे जेलभित्र । एकदिन पिपलबाेटमा (जेलभित्रकाे चाैताराे) गाईं गुईं सुनियाे जेलभित्र सीआईडी छिराकाे छ रे । त्याे पत्रकार पनि हाे रे । पञ्चायतकाे हण्डीमा पालित पाेसितहरूकाे एउटै काम हुन्थ्याे पंनिजाबुस (पञ्चायत नीति तथा जाँचबुज समिति)ले अराएकाे काम नाककाे चालले गर्ने । सत्याग्रहीकाे रूपधारण गरेर जेल छिरेका ती पात्रकाे काम जेलभित्र बसेका सत्याग्रहीले पञ्चायतविरुद्ध के कस्ता कुराकानी गर्छन् ? बुझेर सुलसुले शैलीमा जेलरमार्फत हण्डी केन्द्रसम्म पुर्‍याउने । सत्ता जाेगाउन पञ्चहरूले कुनै कसुर बाँकी राखेनन् । ती बयाेबृद्ध सुलसुले पत्रकारले पञ्चायतदेखि गणतन्त्रसम्म सर्लक्कै निले । सिपालु शासकले शासन गर्ने शैली आफैं तय गरेका हुन्छन् र उनीहरू त्यै शैली नै सर्वेसर्वा हाे भन्नेमा ढुक्क हुन्छन् ।

महेन्द्रकाे विरासत वीरेन्द्रले सुलसुले बिचाैलियाकै भरमा टिकाएका थिए । कर्मचारीदेखि पत्रकार, डक्टरदेखि कलाकार राजदरवारकाे वरिपरि घुमेरै राजावादी भै टाेपलेका थिए त्यतिखेर । राजतन्त्र धरापमा परेपछि नैतिकता देखाउने हिम्मत कुनै माइकालालले गर्न सकेनन् । राजतन्त्र हटाउने निर्णय सुनेर बसेका रूक्माङ्गतदेखि सूर्यबहादुर, कमल थापादेखि रमेशनाथ पाण्डे कसैलाई पनि राजसंस्थाकाे आवश्यकता परेन । खाएकै थालमा फाेहाेर गरेर कुलेलम ठाेकेका पूर्व पञ्च भनिनेहरू गणतन्त्रमा खिया लागेपछि फेरि महाराजधिराजकाे जाे हुकुम भनेर सलबलाउन थालेकाे प्रसंग राजपाठ बुझेका बचाैलियाहरूले गर्न थालेका छन् । शासकलाई गद्दि भए पुग्ने शासन कु हाेस् वा शु हाेस् ! बिचाैलियाकाे भरमा सत्तामा विराजमान भैरहने सपना निन्द्रामा मात्रै सुन्दर लाग्छ विपनामा हाेइन भन्नेसम्मकाे हेक्का नराख्नेलाई के नै उपदेश दिन सकिन्छ र ।

ठेक्कापट्टा र नियुक्तिका फाइल च्यापेर शक्तिकेन्द्र धाउने बिचाैलियाकाे जगजगी, फाेहाेर गर्नेलाई भन्दा देख्नेलाई लाज भनेजस्ताे भैसक्याे । कुलमान अवकासकाे पूर्वसन्ध्यामा प्राधिकरण क्याप्चर गरेर धनपति बन्ने पिपासु बिचाैलियाहरूकाे मकसद पूरा नहाेस् भन्नेतर्फ सचेत गराउन ढिला गर्न हुन्न । अन्धकार युगकाे अन्त्य गरेर जन जनकाे ढुकढुकी बनेका कुलमानकाे प्राधिकरण बसाईकाे दिनगन्ति शुरू भएसँगै आफु अनुकुलकाे मान्छे भित्र्याउने हाेडबाजी नै चलेकाे छ । प्राधिकरणलाई हाम्राे मान्छे हाेइन कुलमान जस्तै राम्राे मान्छे चाहिएकाे छ ।

(लेखक कोइराला एभिन्यूज खबरका खबर प्रमुख हुन् ।)

तपाईको प्रतिक्रिया

Techie