काठमाडौँ महानगरपालिकाको फलामे आकाशेपुल निर्माण योजना अलपत्र  !!!

काठमाडौँ:  काठमाडौँ महानगरपालिकाको फलामे आकाशेपुल निर्माण योजना अलपत्र परेको छ । तीन वर्ष अघि महानगरले १२ वटा फलामेपुल निर्माण गर्ने योजना ल्याए पनि ती अघि बढ्न सकेका छैनन् ।

काठमाडौँ महानगरपालिकाले स्मार्ट सिटी बनाउने अवधारणा अन्तर्गत आर्थिक वर्ष २०७४÷७५ को नीति तथा कार्यक्रममा १२ वटा आधुनिक फलामे पुल निर्माण गर्ने योजना अघि सारेको थियो । त्यसका लागि १२ करोड रुपैयाँ विनियोजन भएको थियो । एक वर्षभित्र सम्पन्न गर्ने गरी ल्याएको यो योजना तीन वर्ष वित्दा दुई वटा पुल निर्माणमै सीमित भएको छ । माइतीघर र चावहिलमा दुई पुल निर्माण सम्पन्न भएको छ भने अन्य ९ स्थानमा अझै निर्माण कार्य सुरु हुन सकेको छैन । निर्माण अगाडि बढ्न नसक्नुमा आफ्नो गल्ती स्वीकार्नु भन्दा महानगरपालिका सडक विभाग र विद्युत प्राधिकरणलाई दोषी दिएर आफू चोखिन खोजेको छ ।

महानगरपालिकाले तीन वर्ष अघि नै बजेट विनियोजन गरिसकेको भए पनि टेकु भन्सार, त्रिपुरेश्वर, पुतलीसडक, बागबजार, जयबागेश्वरी लगायतका स्थानमा पुल निर्माण अझै सुरु हुन सकेको छैन । योजना ल्याउने कार्यान्वयन नगर्र्नेे र अलपत्र छाड्ने प्रवृत्तिले सर्वसाधारण समेत आजित भएका छन् ।

नयाँ नयाँ विकासका योजना ल्याउने महानगरले ती योजना कार्यान्वयनमा भने प्राथमिकता दिएको देखिँदैन । एक वर्षभित्र बन्नुपर्ने आकासे पुल कहिले बन्ने हो महानगरसँग अझै स्पष्ट जवाफ छैन ।

तपाईको प्रतिक्रिया

Techie