कर्णाली प्रदेश : लेखा समितिले माग्यो मुख्यमन्त्री रोजगार कार्यक्रमको हिसाब

सुर्खेत : कर्णाली प्रदेशको लेखा समितिले मुख्यमन्त्री रोजगार कार्यक्रमको हिसाब किताब मागेको छ । समितिको बैठकले मुख्यमन्त्री स्वरोजगार कार्यक्रमको हिसाब किताबको पुर्णविवरण तीन दिनभित्र जवाफ पठाउन सरकारलाई निर्देशन दिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आर्थिक वर्षको अन्त्यमा ठूलो रकम अख्तियारी गएको भन्दै यसको पारदर्शीताबारे लेखा समितिले सरकारसँग जवाफ मागेको हो । समितिले तीन दिनभित्र कार्यक्रमका लागि कहाँ कति बजेट अख्तियारी दिइएको समितिका अध्यक्ष दिनबन्धु श्रेष्ठले बताए ।

उनले झण्डै ४० करोड रूपैयाँ गाउँमा गएको सुनिएको भन्दै आर्थिक वर्षको अन्त्यमा ठूला भौतिक संरचना निर्माण गर्न सम्भव नभएको जिकिर गरे । यस्तो बेला ठूलो रकम अख्तियारी दिइँदा बजेट सदुपयोग हुनेमा शंका उब्जिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

उनले मुख्यमन्त्री रोजगार कार्यक्रमको पूर्ण विवरणसहितको जवाफ पठाउन सरकारलाई निर्देशन गरिएको बताए । मुख्यमन्त्री कार्यालयले आर्थिक वर्षको अन्त्यतिर मुख्यमन्त्रीको नाम जोडिएका दुईवटा कार्यक्रमको ४० करोड रूपैयाँ स्थानीय तहमा निकासा गरेको छ ।

असार ९ र १० गते मुख्यमन्त्री रोजगार कार्यक्रमको ३० करोड र मुख्यमन्त्री दलित महिला आय–आर्जन कार्यक्रम’ को १० करोड रूपैयाँ स्थानीय तहलाई बाँडफाँट गर्दै निकासा गरिएको हो ।

तपाईको प्रतिक्रिया

Techie