कञ्चनपुरको दशगजा क्षेत्रमा भारतीय एसएसबीले बनायो अस्थायी पोष्ट, नेपाली पक्षले हटाउन लगायो

कञ्चनपुर : कञ्चनपुरस्थित नेपाल भारत दशगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबीले अस्थायी पोष्ट बनाएपछि नेपाली पक्षले तत्काल हटाउन लगाएका छन् ।

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० सँगै जोडिएको सीमा रेफ्रेन्स स्तम्भ नम्बर ३४ र ३५ को बीचमा रहेको दशगजा क्षेत्रमा भारतीय एसएसबीले बुधबार अस्थायी पोष्ट बनाएको थियो ।

नेपाली पक्षले थाहा पाएपछि सशस्त्र प्रहरी बल नेपाल बर्डर आउट पोष्ट भुडा, प्रहरी चौकी भुडा, अन्तर्राष्ट्रिय सीमा सरोकार समुह कञ्चनपुर र स्थानीय नेपाली नागरिकहरुको संयुक्त टोलीले भारतीय एसएसबीलाई तुरुन्त त्यसठाउँबाट अस्थायी पोष्ट हटाउन लगाएको हो ।

दशगजा क्षेत्रमा भारतीय एसएसबीले अस्थायी पोष्ट खडा गरेको सुचना प्राप्त हुने बित्तिकै उक्त पोष्ट दशगजाबाट तत्काल हटाउनका लागि पहल गर्न सशस्त्र प्रहरीका जिल्ला प्रमुखलाई आग्रह गरेको थियो ।

सुरक्षा निकाय तथा स्थानीयको अगुवाइमा दशगजामा राखिएको भारतीय एसएसबीको पोष्ट हटाइएको अन्तर्राष्ट्रिय सीमा सरोकार समुह कञ्चनपुरका संयोजक पल्लबराज भट्टले जानकारी दिए।

अन्तर्राष्ट्रिय सीमा सरोकार समुह कञ्चनपुरले देशमा तीन तहका सरकार हुँदा समेत सीमा सुरक्षामा चासो नदेखिनु चिन्ताको विषय भएको जनाएको छ ।

तस्करी रोक्नका लागि सीमा क्षेत्रमा अस्थायी पोष्ट बनाउने बहानामा भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गर्न खोजेको स्थानीयको भनाइ छ । केही दिनअघि कञ्चनपुरमै एसएसबीको गोली लागेर एकजना घाइते भएका थिए ।

तपाईको प्रतिक्रिया

Techie