ऐतिहासिक दूधमती नदीको सौन्दर्यीकरण कार्य शुरु (भिडियो रिर्पोट)

काठमाडौं: जनकपुरधामको ऐतिहासिक दूधमती नदी नालामा परिणत भईरहेको बेला सो नदीको संरक्षण र सौन्दर्यीकरणका लागि प्रदेश २ सरकार अग्रसर भएको छ । मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत नदीको सौन्दर्यीकरण गरिने कार्य शुरु भएको हो ।
मुख्यमन्त्री स्वच्छता अभियानका अन्तर्गत नदीको डिपिआर भईसकेको र जनकपुरधामको बसविट्टी देखि मौनी बाबाको स्थानसम्म पहिलो चरणमा कार्य चाडै शुरु हुने प्राविधिक समितिले जनाएको छ । समितिका अनुसार नदीको जग्गा भूमाफियाले अतिक्रमण गरेको गुनासो बढिरहेका बेला जग्गाको अवस्था एकीन गर्न नापी कार्यालयले जग्गा नापी गर्न पनि शुरु गरेको छ ।

त्रेताकालिन ईतिहास रहेको दूधमति नदी धनुषा र महोत्तरी जिल्ला भएर बग्छ । माता सीतालाई दूध खुवाउन कामधेनु गाईले आफ्नो स्तनबाट दूधको धारा बगाएपछि यो नदी बनेको धार्मिक मान्यता रहेको छ । नदीको सौन्दर्यीकरण भएपछि पर्यटकहरुको दूघमति नदी पर्यटकको केन्द्र बन्ने छ प्रदेश सरकारको विश्वास छ ।

कुल ४६ किलोमिटर लम्बाइको दूधमती नदी मिथिलाञ्चलकै सबैभन्दा पुरानो नदीहरु मध्ये एक हो । हिन्दू धर्मावलम्बीहरुले पवित्र मान्दै स्नान गर्ने, देवकार्य, पितृकार्य गर्ने महत्वपूर्णस्थलका रूपमा लिइने यो नदीको रामायणकालिन इतिहास रहेको छ ।

संरक्षण अभावमा नदीको पानीका साथै जलाधार क्षेत्रको गुणस्तर घट्दै गएको छ भने सांस्कृतिक तथा कलात्मक सौन्दर्यको मान्यतासमेत हराउँदै गएको छ । नदीको सौन्दर्यीकरण शुरुवात संगै स्थानीयवासी खुशी भएका छन् ।

दूधमती नदीको पानी केही वर्ष अगाडीसम्म दूधजस्तै बग्ने गथ्र्यो । तर नदीमै नाला र फोहोर मैला फालिएपछि यो नदी संरक्षणको पर्खाईमा रहेको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ सखुवामा उदगम स्थल रहेको दूधमती नदीको धारा जनकपुरधाम हुँदै महोत्तरीको मटिहानीसम्म प्रवाहित हुन्छ ।

तपाईको प्रतिक्रिया

Techie