एमाले सांसदहरु सभामुख सापकोटाको कार्यकक्षमा, सभामुखले निस्पक्षता बिर्सेको आरोप 

काठमाडौ । नेकपा एमालेका सांसदहरुले पार्टीले कारबाही गरेका १४ जना नेतालाई सांसदबाट पदमुक्त भएको सूचना टाँस गर्न आज पनि सभामुख अग्नि सापकोटालाई दबाब दिएका छन । आज पुन संसद सचिवालय सिंहदरबार पुगेर एमाले सांसदहरुले तत्कालै सूचना जारी गर्न दबाब दिएका हुन ।आज कार्यालय समय शुरु हुनासाथ एमालेका सांसदहरू सभामुखको कार्यकक्षमा पुगेका छन् । सचेतक शान्ता चौधरीसहित खगराज अधिकारी,गोकुल बास्कोटा,कृष्णभक्त पोखरेल,राजेन्द्र गौतम,लालबाबु पण्डित,विमला विश्वकर्मा,गोमा देवकोटा,सूर्य पाठक लगायतका सांसद सभामुखलाई दबाब दिन गएका हुन् । प्रक्रियागत रुपमा सूचना प्राप्त हुनासाथ टाँस गर्नुपर्ने भएपनि सभामुख सापकोटा राजनीतिक रुपमा प्रेरित भएर ढिलाइ तथा आनाकानी गरिरहेको एमाले सांसदको आरोप छ । सभामुख सापकोटाले भने यसबारेमा प्रचलित कानून अनुसार निर्णय लिने बताउदै आएका छन । बिहीबार ध्यानार्षण गराउने क्रममा एमाले सांसद महेश बस्नेत र सभामुख सापकोटाविच चर्काचर्की समेत परेको थियो । एमालेले माधवकुमार नेपाल, रामकुमारी झाँक्री, मेटमणि चौधरी लगायतलाई सांसद पदबाट हटाउने निर्णय गरि सोही व्यहोराको पत्र संसद सचिवालयमा दर्ता गरेको थियो । तर सभामुखले अहिलेसम्म त्यो सूचना टाँस गरेका छैनन । संसद सचिवालयमा कारबाही गरिएको व्यहोराको पत्र दर्ता भएको १५ दिनभित्र संसद चलेको भए सदनमा सभामुखले जानकारी गराउने नभए सूचना टाँस गरेर जानकारी गराउने कानुनी प्रावधान छ । संसद सचिवालयले औपचारिक रुपमा सूचना जारी नगरी सांसद पद मुक्त हुँदैनन् ।

तपाईको प्रतिक्रिया

Techie