एमालेको नेपाल पक्षसँग पार्टी एकता हुनसक्छ: दाहाल  

ओलीले संविधान र परिवर्तनलाई सिध्याउन खोजेको आरोप

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेको माधब नेपाल पक्षसँग पार्टी एकता हुनसक्ने बताएका छन । बिहीबार सिन्धुलीमा अगुवा कार्यकर्तासँगको भेलामा उनले कम्युनिष्ट पार्टीको एकताको नीति अनुसार नेपाल समूहसँग एकता हुनसक्ने बताएका हुन । अध्यक्ष दाहालले बृहत्तर कम्युनिष्ट एकता अझै आवश्यकता भएको भन्दै एमाले माओवादी केन्द्र र अरु कम्युनिष्ट पार्टीहरुबीच एकता हुनुपर्छ भन्ने मिसनबाट पछि नहट्ने बताए ।
अध्यक्ष दाहालले नयाँ सरकार गठनका लागि दलहरुबिच छलफल चलिरहेकाले अहिले नै कसको नेतृत्वमा सरकार गठन हुन्छ भन्न नसकिने उल्लेख गरे । उनले माओवादी केन्द्र र काँग्रेस मिलेर आलोपालो प्रधानमन्त्री चलाउने चर्चा हुँदै आएको भएपनि निर्णय भने भइनसकेको बताए । नेकपा एमालेका अध्यक्ष ओलीसँग सम्वादका लागि फोन गरेपनि उनले नउठाएको समेत दाहालले बताए । उनले ओलीले संविधान र परिवर्तनलाई सिध्याएरै छाड्ने मनसाय बनाएको आरोप समेत लगाए । संविधान सिध्याएरै छाड्ने केपीको दुःसाहस कुनै पनि हालतमा पूरा हुन नदिने उनले उल्लेख गरे । प्रधानमन्त्रीले अझै पनि लोकतन्त्रविरुद्ध चलखेल गरिरहेको अध्यक्ष दाहालको भनाइ छ । दाहाल सिन्धुली जिल्लामा कुनै औपचारिक कार्यक्रम बिना पुगेका हुन । २७ वर्ष अगाडी विद्रोहको तयारी गर्ने प्रशिक्षणका क्रममा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलको सिन्धुलीस्थित घरमा उनी बुधबार बसेका हुन ।।

तपाईको प्रतिक्रिया

Techie