एभिन्यूज खबरको वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री ओलीद्वारा शुभकामना व्यक्त

काठमाडौं : एभिन्यूज खबरको १३ औं वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गरेका छन् । एभिन्यूज खबरलाई शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले टेलिभिजन ब्यवस्थापन, सञ्चारकर्मी र कर्मचारीहरुमा बधाइ दिएका हुन् ।

सन्देशमा प्रधानमन्त्री ओलीले सरकारको ‘समृद्ध नेपाल–सुखी नेपाली’ हाम्रो राष्ट्रिय आकांक्षालाई पूरा गर्न सहयोग पुग्नेगरी आफ्नो ठाउँबाट भूमिका खेल्ने विश्वास समेत व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सूचना सम्प्रेषणमा निष्पक्षता, तटस्थता र पारदर्शीता अंगीकार गर्नु ब्यवसायिक सञ्चार माध्यमको मुख्य कर्तब्य भएको समेत स्मरण गराएका छन् ।

सूचना निष्पक्ष हुन नसके त्यसको नकारात्मक असर समाज, राजनीति, प्रशासन, अर्थतन्त्र र सेवा क्षेत्रमा समेत पर्दछ र समाज भ्रम र अफवाहको कुहिरोमा रुमलिन पुग्नेतर्फ पनि प्रधानमन्त्रीले सन्देशमा ध्यानाकर्षण गराएका छन । सञ्चार माध्यमको निष्पक्ष प्रस्तुतिका माध्यमबाट नै समाजले प्रगति र विकृति पहिल्याउने अवसर गर्ने उनको भनाइ छ ।

तथ्ययुक्त प्रस्तुतिले सञ्चार माध्यमलाई समाजले आफ्नो तस्बिर प्रस्तुत गर्ने ऐनाका रुपमा ग्रहण गर्ने र यसबाट राज्यले आफ्ना सवल तथा कमजोर पक्षमाथि विमर्शको अवसर प्राप्त हुने प्रधानमन्त्रीको भनाइ छ । सञ्चार माध्यमहरुले आफ्ना आग्रह र पूर्वाग्रह प्रस्तुत गर्न थाले भने त्यसबेला समाजको ऐना होइन, सञ्चार माध्यम स्वयंको पूर्वाग्रही तस्बिर मात्र देखिनेपनि प्रधानमन्त्री ओलीले स्पष्ट पारेका छन् ।

निष्पक्षता नै सञ्चार माध्यमको विश्वसनीयताको आधार र विश्वसनीयता नै त्यसको शक्ति भन्ने कुरा बिर्सन नहुने उनको भनाइ छ । विचार र अभिव्यक्तिको स्वतन्त्रतामा देश, समाज र सभ्यता प्रतिको उत्तरदायित्व पनि समेटिएको हुने उल्लेख गदै प्रधानमन्त्री ओलीले एभिन्यूज खबर टेलिभिजनले यस उत्तरदायित्वलाई महत्वका साथ बहन गर्दै आएको छ र गर्नेछ भन्ने विश्वास समेत व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

Techie