एकता कायम राख्ने नाममा गलत विचार र प्रवृतिको ढाकछोप गर्न सकिँदैन : अध्यक्ष दाहाल

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले एकता कायम राख्ने नाममा गलत विचार र प्रवृतिको ढाकछोप गर्न नसकिने बताएका छन् । कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २३औं स्मृति दिवसका अवसरमा आयोजिक कार्यक्रममा अध्यक्ष दाहालले गलत विचार र प्रवृत्तिहरुको ढाकछोप नगरी फर्छ्यौट गर्नुपर्ने बताए ।

कुनै पनि बहानामा पार्टी विभाजन हुनुहुँदैन भन्ने जनताको चाहना आफूले बुझेको भन्दै अध्यक्ष दाहालले तर एकता अक्षुण राख्ने नाममा विभिन्न विचार, प्रवृति र मुद्दाहरुको बहस ढाकछोप र छोपछाप भने गर्न नहुने बताए ।

अध्यक्ष दाहालले नेकपामा पदका लागि विवाद नरहेको बताए । पार्टीमा पदका लागि झिनाझिप्टी नभएको भन्दै उनले पार्टीको विचार र पद्दतीलाई कसरी अगाडी बढाउने विषयमा बहस भइरहेको दाबी गरे ।

खबरहरुमा आएजस्तो पद प्राप्तीका लागि पार्टीभित्र कुनै विवाद नरहेको उल्लेख गर्दै उनले विधि र पद्धतीको पालना कसरी गराउने भन्ने विषयमा छलफल केन्द्रित रहेको बताए ।

अध्यक्ष दाहालले अहिलेको बहसले पार्टीको एकतालाई अझ माथिल्लो स्तरमा लग्दै सुदृढ गर्ने बताए । पार्टी एकता टुटाउने फुटाउने प्रवृतिहरुलाई सबै मिलेर परास्त गर्नुपर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया

Techie