उपत्यकामा पसल खोल्नका लागि लकडाउन खुकुलो बनाउन प्रशासन सहमत

काठमाडौं : लकडाउन जारी नै रहेको समयमा व्यापारीहरुले एकातर्फी रुपमा पसल सञ्चालन गर्न थालेपछि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीले व्यवसायीका प्रतिनिधिहरुसँग छलफल गरेका छन् । जेठ ३२ सम्मका लागि सरकारले लकडाउन गरिरहेकै समयमा धमाधम पसल खुल्न थालेपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले बिहीबार व्यापारीहरुसँग संयुक्त छलफल गरेका हुन् ।

जिल्ला समन्वय समिति काठमाडौंमा बिहीबार भएको संयुक्त छलफलले सामाजिक दुरी सहितको स्वास्थ्य सतर्कता कायम गरी पसल सञ्चालन गर्ने अवस्था श्रृजना गराउने ढंगले लकडाउनलाई समन्वय गर्ने सम्बन्धमा सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले छलफलले व्यापारीहरुबाट प्राप्त सुझावका आधारमा व्यवसाय सञ्चालनका लागि विभिन्न मोडल तयार पार्दे सो मोडलमा व्यवसाय सञ्चालन गर्न लकडाउन खुकुलो बनाउनुपर्ने निष्कर्ष निकालेको बताए । साथै छलफलको निष्कर्ष सहित व्यवसाय सञ्चालनका लागि आवश्यक निर्देशिका तयार गरी लागू गर्न कोभिड १९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई सिफारिसको रुपमा पठाइने बताए ।

छलफलमा व्यवसायीहरुले बिहान ११ बजेदेखि सांझ साढे ५ बजे सम्म उद्योग तथा बजार सञ्चालनको वातावरण मिलाउन सुझाव दिएका थिए । उनीहरुले दिन बिराएर पालैपालो सबै किसिमको उद्योग व्यवसाय र पसल सञ्चालनको व्यवस्था मिलाउन सुझाव दिएका छन् ।

शिक्षण संस्था, धार्मिक स्थल, सिनेमा हल, जिमखाना, खेलकुद लगायत क्षेत्र बाहेक अत्यावश्यक सामान, मल, कृषि, कुरियर, सरकारी कार्यालय, निजी संघ संस्था, उद्योग, निर्माण सम्बन्धी कामको साथै सामाजिक दुरी सहितको सिट व्यवस्थापन गरी जिल्ला भित्र आन्तरिक रुपमा सार्वजनिक यातायातको साधन सञ्चालन गर्ने व्यवस्था मिलाउन व्यवसायीले जोड दिएका छन् ।

उनीहरुले लामो समयको लकडाउनले स्वास्थ्य चेतना र सतर्कताबारे व्यापक चेतना वृद्धि गरेकाले जीवनरक्षा मात्रै नभई जीवन यापनका लागि अर्थतन्त्रलाई चलायमान बनाउन सबै किसिमका व्यवसायलाई व्यवस्थित ढंगले सञ्चालनको प्रबन्ध गरिनुपर्ने बताए ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा बिहीबार राजधानीका सबै प्रकारका पसल खुलेपछि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले त्यसतर्फ चासो देखाउँदै व्यवसायीलाई छलफलमा बोलाएका हुन् ।

तपाईको प्रतिक्रिया

Techie