उपकरण अभाव हुँदा सिन्धुपाल्चोक पहिरोमा बेपत्ताको खोजी प्रभावित

काठमाडौं : उपकरण अभावमा सिन्धुपाल्चोकको लिदी पहिरामा परेर बेपत्ता भएकाको खोजी कार्यमा समस्या आएको छ । सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले शुक्रबारबाटै बेपत्ताको खोजीकार्यलाई तीव्रता दिए पनि हाते औजार प्रयोग गरेर मात्रै बेपत्ताहरू भेटिने सम्भावना कम हुँदै गएको हो ।

बेपत्ताको खोजीका लागि आजवाट स्काभेटर प्रयोग गर्ने तयारी सुरक्षाकर्मीले गरेका छन । पहिरामा पुरिएकामध्ये हालसम्म १८ जनाको शव फेला परेको छ । पहिरामा अझै २० जना हराइरहेका छन् । सुरुमा ३८ मात्रै बेपत्ता भनिए पनि थप एक जना पनि बेपत्ता भएको खुलेको छ ।

यसैबीच सिन्धुपाल्चोकको जुगल गाउँपालिलकाको लिदि पहिरोमा ज्यान गुमाउनेहरुका परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिइने भएको हो । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पहिरोमा ज्यान गुमाउनेहरुका परिवारलाई १ लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको हो ।

काजकिरियाका लागि परिवारलाई तत्काल २५ हजार उपलब्ध गराउने निर्णय भएको छ । दुवै अभिभावक गुमाएका बालबालिकाको हकमा कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षाको व्यवस्थापन गर्ने निर्णय पनि भएको छ ।

बाग्मती प्रदेश सरकारले पहिरो पीडितलाई तत्काल अस्थायी आवास बनाएर राखिदिने र वर्षापछि प्रदेश सरकारले पीडितको घर बनाइदिने आश्वासन दिएको छ । पहिरो पीडितका लागि तामाङ कलाकार संघले एक लाख २५ हजार आर्थिक सहयोग गरेको छ ।

तपाईको प्रतिक्रिया

Techie