उद्योग वाणिज्य महासंघ निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामाबली प्रकाशन 

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा मार्फत चयन हुने नयाँ कार्यसमितिका लागि १ सय २७ जनाको उम्मेदवारी परेको छ । महासंघको निर्वाचन समितिले शुक्रबार उम्मेदवारहरुको अन्तिम नामावली जारी गरेको हो । निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु सहित कार्यकारिणी समिति सदस्यहरुको कुल ६४ पदका लागि १ सय २७ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले बताएको छ । आफ्नो अनुभवलाई देशको समग्र व्यवसायिक क्षेत्रको हित, विकास र विस्तारका लागि प्रयोग गर्न उम्मेदवारी दर्ता गरेको उम्मेदवारहरुको भनाइ छ ।
महासंघको चुनावमा दुई प्यानल देखिएका छन् । जस अन्तर्गत चन्द्रप्रसाद ढकालको प्यानलबाट वस्तुगत उपाध्यक्षतर्फ उमेशलाल श्रेष्ठ, जिल्ला नगरतर्फ गुणनिधि तिवारी र एशोसिएटतर्फ रामचन्द्र सघाईको उम्मेदवारी परेको छ । यस्तै किसोर प्रधानको समूहतर्फ वस्तुगततर्फ अञ्जन श्रेष्ठ, जिल्लानगरतर्फ दिनेश श्रेष्ठ र एशोसिएटतर्फ शौरभ ज्योतीको उम्मेदवारी परेको छ । निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावली अनुसार जिल्ला नगरतर्फको १८ पदका लागि ३८ जनाले उम्मेदवारी दिएका छन् । यस्तै वस्तुगततर्फको १४ पदका लागि २९ जना, एशोसिएट तर्फको १९ पदका लागि ३३ को उम्मेदवारी परेको छ । यस्तै निर्वाचन क्षेत्र संस्थापक सदस्य समूहतर्फ एक पदका लागि ३ जनाको उम्मेदवारी परेको छ ।

तपाईको प्रतिक्रिया

Techie