आगामी बजेट कोरोना महामारीका कारण परेको प्रभाव न्यूनीकरणमा आधारित हुने

काठमाडौं : आगामी आर्थिक वर्षको बजेट कोरोना महामारीका कारण परेको प्रभाव न्यूनीकरणमा आधारित हुने भएको छ । आगामी वर्षको बजेट तथा कार्यक्रमका सिद्धान्त तथा प्राथमिकताबारे संघीय संसद प्रतिनिधिसभा र राष्ट्रिय सभामा आज प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सो जानकारी दिएका हुन् ।

उनले सरकारले लिएको सुशासनको लक्ष्यमा पुग्नका लागि तत्काल कोरोना संक्रमणको प्रभाव न्यूनीकरणमा आधारित भएर बजेट ल्याइने बताए । मन्त्री खतिवडाले कोरोना भाइरसको प्रभावलाई न्यूनीकरण गर्दै अर्थतन्त्रलाई गतिशीलता तुल्याउने बिषयले बजेटमा प्राथमिकता पाउने पनि स्पष्ट पारे । बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको उनको भनाइ थियो ।

अर्थमन्त्री खतिवडाले कोरोना संक्रमणले श्रम बजार, निर्माण, उत्पादन, पर्यटन तथा आपूर्ति व्यवस्थामा गम्भीर असर परेकाले त्यसको प्रभाव घटाउन सरकारले प्रयास गर्ने पनि जानकारी पनि दिए । अर्थमन्त्रीले रोजगारीलाई पुनस्र्थापना गर्न, वैदेशिक रोजगारीबाट फर्कनेलाई रोजगारी उपलव्ध गराउन र स्वरोजगारी बढाउन कृषि तथा साना घरेलु तथा मझौला उद्योगमा संलग्नता बढाउने गरी कार्यक्रमहरु तर्जुमा गर्ने पनि उल्लेख गरे ।

अर्थमन्त्रीले निजी क्षेत्रको व्यवसायमा परेको असरलाई कर सहुलियत प्रदान गर्नेगरी मौद्रिक नीतिमार्फत सम्वोधन गर्ने प्रतिबद्धता पनि जनाएका छन । उनले बैठकमा आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्ताव बाहेक पेश गरेका हुन् ।

प्रि बजेट छलफलका लागि संसदमा तीन दिनको समय तय गरिएको छ । दुवै सदनले बजेटका सिद्धान्त र प्राथमिकताबारे अर्थमन्त्री खतिवडालाई सुझाव दिनेछन् । संघीय संसदका सुझाव समेट्दै अर्थमन्त्री खतिवडाले नीति तथा कार्यक्रम ल्याउने छन् ।

नीति तथा कार्यक्रम जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गर्ने कार्यक्रम छ । उक्त नीति तथा कार्यक्रमको आधारमा नयाँ बजेट जेठ १५ गते सार्वजनिक हुनेछ ।

तपाईको प्रतिक्रिया

Techie