आइसोलेसनको दुर्गति : विरामी निको हुन जाने कि झन् रोग थप्न ?

राजविराज : कोरोना उपचार तथा व्यवस्थापनका लागि राजविराजमा स्थापना गरिएको आइसोलेसन केन्द्र फोहोर र दुर्गन्धित भएको भन्दै गुनासो शुरु भएको छ । आइसोलेसनको फोटो तथा भिडियो समाजिक संजालमा राखेर व्यवस्थापकीय समस्याका कारण आइसोलेसन बस्न योग्य नभएको भन्दै चौतर्फी आलोचना भएको हो ।

संक्रमितहरुले ‘फेसबुक लाइभ’ गरेर आइसोलेसनमा बस्ने र सुत्ने ठाउँदेखि खाना पकाउने, खाने र शौचालयसमेत दुर्गन्धित रहेको बताइरहेका छन् भने त्यसै अनुसारका फोटो तथा भिडियो समेत सार्वजकि भइरहेका छन् । फोहोर र दुर्गन्धका कारण संक्रमितहरुले कष्टपुर्ण समय गुजार्नु परिरहेको गुनासो ब्यापक रुपमा आएको छ ।

आइसोलेसनमा रहेको फोहोरका कारण संक्रमितहरुलाई हैजा लाग्न सक्ने संक्रमितहरुले नै गुनासो गरेका छन् ।‍ यसैगरी, खाने कुरामा पनि टाइमटेबल नहुने र तागतिलो खानेकुरा खानुपर्ने अवस्थामा अधिकांश फर्सीको तरकारी र खाजामा चाउचाउ मात्र दिने गरेको संक्रमितहरुको गुनासो छ ।

आइसोलेसनको आन्तरिक व्यवस्थापन गरिरहरेको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट रणजीत कुमार झा भने प्रचार गरिए जस्तो समस्या आइसोलेसनमा नरहेको दाबी गर्छन् । ‘गुनासो आएपछि म गएर त्यहाँको अवस्था हेरें । देखिएका केही समस्या समाधान पनि भएका छन्,’ उनले भने, ‘तर, ववण्डर नै मच्चाउने गरी समस्या छैन ।’

घरमा बसेजस्तो सुविधा खोज्ने केही व्यक्तिले समान्य समस्यालाई ठुलो समस्याका रुपमा प्रस्तुत गरिरहेको उनको भनाइ छ । आइसोलेसनमा २ जना कार्यालय सहयोगी र २ जना स्विपरले दिनहुँ सरसफाई लगायतका काम गरिरहेका थिए । ‘सरसफाई फितलो भयो भन्ने गुनासो आएपछि थप १ जना स्विपर नियुक्त गरी सरसफाईलाई तिव्रता दिइएको छ,’ उनी भन्छन्, ‘कतिपय समस्या त्यहाँ बस्नेहरुकै कारण पनि उत्पन्न भएका छन् । आफुले खाएर बचेको खाना त्यसै ठाउँमा छोडेर हिँड्ने अनि फोहोर भयो भनेर हल्ला गर्ने प्रवृत्तिको विकास भइरहेको छ ।’

हालसम्म साढे ३ सय भन्दा बढी संक्रमितहरु सोही आइसोलेसन र विद्यमान व्यवस्थापन मै उपचारपछि डिस्चार्ज भएर गएको जानकारी दिँदै उनले भने, ‘अहिलेसम्म कुनै गुनासो आएको थिएन, तर जव राजविराजका मानिसहरु भर्ना हुन थाले अनि समस्या देखिएको छ ।’ होम आइसोलेसनमा बस्न इच्छा गर्नेहरुले आइसोलेसनमा समस्या देखाएर आफैं समस्या उत्पन्न गर्न खोजेको उनको बुझाइ छ ।

तपाईको प्रतिक्रिया

Techie