अर्मेनिया-अजरबैजान युद्धविराम सम्झौताको उल्लंघन, पुनः भयो भिडन्त

एजेन्सी : अर्मेनिया र अजरबैजानबीच भएको युद्धविराम सम्झौताको उल्लंघन भएको छ । युद्धविराम सम्झौता लागू भैसकेपछि पनि दुबै देशबीच थप भिडन्तहरु भएका हुन् । विवादित नागोर्नो–काराबाख क्षेत्रको राजधानी स्टेपनाकर्टमा शनिवार बेलुकी बम विष्फोट भएको छ ।

अजरबैजानका राष्ट्रपति इल्हाम अलियभले गान्जा शहरमा अर्मेनियाले रकेट आक्रमण गरेको आरोप लगाएका छन् । आक्रमणमा नौ जनाको मृत्यु भएको बताइएको छ । दुई साताको लडाइँ पश्चात् दुवै देशले शुक्रवार मस्कोमा अस्थायी युद्धविराम गर्न सहमति जनाएका थिए ।

शनिवारदेखि नै लागू हुने भनिएको युद्धविरामको पालना गर्न आर्मेनिया तथा अजरबैजानलाई अन्तर्राष्ट्रिय समुदायले अपील गरेका छन् । वार्ताको मध्यस्थता गरेका रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले युद्धविराम पूर्ण पालना गर्न आग्रह गरेका छन् ।

युरोपेली युनियनको विदेशनीति प्रमुख जोसेप बोरेलले थप गैर सैनिक मारिएको घटनाले आफु चिन्तित भएको बताएका छन् । सेप्टेम्बर २७ देखि दुई देशबीच शुरु भएको लडाइमा अहिलेसम्म ३ सय भन्दा बढीको मृत्यु भैसकेको छ । हजारौँ मानिस विस्थापित भएका छन् ।

तपाईको प्रतिक्रिया

Techie