अर्को निर्णय नभएसम्मका लागि स्ववियु निर्वाचन स्थगित

काठमाडौं : विशेष कारण देखाउँदै त्रिभूवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित गरेको छ । त्रिवि कार्यकारी परिषदको बैठकले विशेष कारणबस अर्को निर्णय नभएसम्मका लागि स्ववियु निर्वाचन स्थगित गरेको त्रिविका कार्यवाहक रेक्टर शिवलाल भुसालले जानकारी दिए ।

उनले विद्यार्थी संगठनहरुको सहमतिमा निर्वाचन स्थगित गरिएका बताए । त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सबै क्याम्पसलाई परिपत्र गर्दै तोकिएको मितिमा निर्वाचन नहुने स्पष्ट पारेको छ । त्रिविका आङ्गिक क्याम्पसमा यही फागुन १४ गतेका लागि स्ववियु निर्वाचनको मिति तोकिएको थियो ।

प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन विद्यार्थी सङ्गठनबिचको विवादका कारणले विगत १० वर्षदेखि नियमित हुन सकेको छैन । त्रिविमा विसं २०६५ यता क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन ।

तीन वर्षअघि विसं २०७३ मा भएको निर्वाचन २५० क्याम्पसमा मात्र भएको थियो । त्रिविले ६२ आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचनको तयारी गर्न क्याम्पस प्रमुखलाई पत्र पठाइसकेको थियो । पत्रअनुसार ती क्याम्पस स्ववियु निर्वाचनको तयारीमा जुटेका थिए । तर अन्तिम समयमा आएर विश्व विद्यालयले निर्वाचन स्थगित गरेको छ ।

तपाईको प्रतिक्रिया

Techie